साई ग्लोबल कपको उपाधि न्यु होराइजनलाई

by समतल अनलाइन
26Shares

भैरहवा।न्यु होराइजन कलेजले ११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा नेपथ्य कलेजलाई ४४ रनले पराजित गर्दै न्यु होराइजनले उपाधि हात पारेको हो ।

उपाधिसँगै उसले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको नेपथ्यले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनलमा टस जितेर ब्याटिङमा आएको न्यु होराइजनले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय १४ रन बनायो । उसका लागि आरिफ खानले ३५, महेश भरले २४, प्रिन्स पालले १६ र अमर मिश्राले १२ रन बनाए । बलिङमा नेपथ्यका प्रविण ढकालले ३, लक्ष्मण कुमालले २ तथा रोशन बश्याल, सन्दीप यादव, आरिफ खान र प्रतीक भट्टराईले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको नेपथ्यले १७ ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ७० रन बनायो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका शुभम पाण्डेले ४, विप्रसन केसीले ३ तथा महेश भर, प्रिन्स पाल र शुभम खनालले १–१ विकेट लिए । नेपथ्यका सन्दीप यादवले २९ तथा जसिम खान र लक्ष्मण कुमालले समान ११–११ रन बनाए । शुभम पाण्डे प्लेयर अफ द फाइनल भई एक हजार रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देही क्याम्पसका सन्तोष यादव म्यान अफ द सिरिज भई १० हजार रुपैयाँ पुरस्कार पाए । यस्तै, बुटवल कालिकाका प्रज्जवल थापा बेष्ट ब्याटर र प्यारामाउण्ट कलेजका आशुतोष पाण्डे बेष्ट बलर घोषित भए । उनीहरु जनही ५–५ हजार रुपैयाँ पाए । यस्तै, प्रतियोगितामा भैरहवा नमून कलेज अनुशासित टिम हुन सफल भयो । विजेता र उपविजेता टिमलाई लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे, रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धीरज क्षेत्री कार्यक्रम संयोजक निरजप्रताप खाँण, नेपाल क्रिकेट संघका निवर्तमन कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, मुख्य प्रायोजक साई ग्लोबल कलेजका संचालकहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

You may also like

This will close in 0 seconds