बुटवलमा ‘होराइजन एजुकेसन मार्ट’ सञ्चालनमा, विद्यार्थीलाई एकै ठाउँबाट शैक्षिक सामग्री

by समतल अनलाइन
81Shares

बुटवल। विद्यार्थी लक्षित गर्दै बुटवलमा ‘होराइजन एजुकेसन मार्ट’ सञ्चालनमा आएको छ। करिब डेढ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त मार्टले विद्यार्थी, शिक्षक तथा शैक्षिक संस्थालाई आवश्यक स्टेशनरी र शैक्षिक सामग्री एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य राखेको छ।

मार्टमा सन्तोष मरासिनी, बिनोद पन्थ र राम ज्ञवालीको संयुक्त लगानी रहेको छ। बुटवल तथा आसपासका क्षेत्रका विद्यार्थीलाई सहज, सुलभ र गुणस्तरीय शैक्षिक सामग्री उपलब्ध गराउने लक्ष्यसहित मार्ट सञ्चालनमा ल्याइएको सञ्चालक सन्तोष मरासिनीले जानकारी दिए।

उनका अनुसार विद्यार्थीका लागि आवश्यक कापी, किताब, कलम, ब्याग, विद्यालय पोसाक, प्रिन्टिङ सामग्री लगायत विभिन्न शैक्षिक सामग्री एउटै स्थानबाट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ। “विद्यार्थी र अभिभावकलाई विभिन्न पसल धाउनुपर्ने झन्झट नहोस् भन्ने उद्देश्यले हामीले सबै सामग्री एकै ठाउँमा उपलब्ध गराएका छौं,” उनले भने।

नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै मार्टले विशेष छुट योजना समेत ल्याएको छ। फागुन महिनाभर लागू हुने गरी केही शैक्षिक सामग्रीमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सञ्चालक बिनोद पन्थले बताए। उनका अनुसार यस योजनाबाट विद्यार्थी र अभिभावकलाई आर्थिक रूपमा राहत पुग्ने अपेक्षा गरिएको छ।
मार्टको औपचारिक उद्घाटन जेष्ठ नागरिक आमा माया पन्थबाट गरिएको थियो। जेष्ठ नागरिकबाट उद्घाटन गरिनु सम्मान र प्रेरणाको सन्देश दिनका लागि गरिएको आयोजकले बताएका छन्। उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अर्का सञ्चालक राम ज्ञवालीले विद्यार्थीलाई केन्द्रमा राखेर सेवा दिने उद्देश्यले मार्ट सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा सेवा थप विस्तार गर्ने योजना रहेको जानकारी दिए। “हामी बुटवललाई शैक्षिक सामग्रीको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्यमा छौं,” उनले भने।

बुटवलमा यस प्रकारको विद्यार्थी केन्द्रित शैक्षिक मार्ट सञ्चालनमा आउनु सकारात्मक कदमका रूपमा हेरिएको छ। यसले विद्यार्थीलाई समयमै आवश्यक सामग्री उपलब्ध गराउन सहयोग पुर्‍याउने र शैक्षिक वातावरणलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।

You may also like

This will close in 0 seconds