बुटवल ।प्रतिनिधि सभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर सुरज पाण्डे यतिबेला रुपन्देही–२ मा घरदैलो अभियानलाई तीव्र बनाइरहेका छन् । निर्वाचन नजिकिँदै जाँदा उनी हरेक दिन मतदाताको घर–घर पुगेर आफ्ना चुनावी एजेन्डा सुनाउँदै समर्थन जुटाइरहेका छन् ।

विहिबार उनले बुटवल उपमहानगरपालिका–४ अन्तर्गत दुर्गा मन्दिर लाइन, अमरपथ, राम मन्दिर लाइन, हाटबजार तथा जेसिज चोक क्षेत्रमा घरदैलो गरेका छन् । स्थानीय बासिन्दा, व्यवसायी, युवा तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनले क्षेत्र विकासका आफ्ना योजना प्रस्तुत गरे ।

घरदैलोका क्रममा उम्मेदवार पाण्डेले विशेष गरी व्यवसायीका समस्यालाई प्राथमिकतामा राखेका थिए । उनले करको दायरा स्पष्ट र पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्न वातावरण सिर्जना गरिने बताए । व्यवसायीलाई अनावश्यक झन्झट होइन, सहजीकरण आवश्यक छ,” उनले भने, ‘ डिजिटल प्रणालीमार्फत कर प्रशासनलाई सरल र पारदर्शी बनाउने मेरो योजना छ ।’
बोल्दै उनले अबको विकास प्रविधिमैत्री हुनुपर्ने धारणा राखे । “डिजिटल सेवा प्रणाली लागू गरी सेवाग्राहीलाई लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ,” पाण्डेले भने, “रुपन्देही–२ लाई स्मार्ट र व्यवस्थित क्षेत्र बनाउने मेरो लक्ष्य हो ।”
घरदैलोका क्रममा अधिकांश स्थानीयले उनको एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए । धेरैले विकास, सुशासन र रोजगारी केन्द्रित योजनामा सहमति जनाउँदै मत दिने आश्वासनसमेत दिएका छन् ।
उम्मेदवार पाण्डे रुपन्देही–२ अन्तर्गतका सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिकाका मुख्य चोक तथा बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । चोक–चोकमा साना कोणसभा गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेको दोहोर्याउँदै आएका छन् ।
निर्वाचन मिति नजिकिँदै जाँदा पाण्डेले घरदैलो, भेटघाट अझ तीव्र पार्ने बताएका छन् । जनताको विश्वास नै मेरो बल हो,” उनले भने, रुपन्देही–२ को समग्र विकासका लागि म प्रतिबद्ध छु ।




