भोली बुटवलमा काँग्रेसको चुनावी सभा : प्रधानमन्त्री उम्मेद्वार गगनले सम्बोधन गर्ने

by समतल अनलाइन
79Shares

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले भोली बुटवलमा वृहत् चुनावी सभा आयोजना गरेकाे छ । रुपन्देही केन्द्रित उक्त सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस बाहिरको खुला चौरमा आयोजना गरिने कार्यक्रम तय गरिएकाे हो ।

सभालाई पार्टीका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा उनले वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक सुदृढीकरण, सुशासन, रोजगारी सिर्जना, युवा सहभागिता तथा आर्थिक रूपान्तरणका विषयमा पार्टीकाे धारणा राख्ने छन् ।

नेपाली काँग्रेस रुपन्देही-२ का सभापति प्रजापाल गिरीका अनुसार रुपन्देहीमा काँग्रेसको पक्षमा जनलहर देखिएको छ । उनले भोलिको सभाले त्यसको स्पष्ट सन्देश दिने बताए । सभामा जिल्लाभरबाट नेता-कार्यकर्ता, शुभेच्छुक तथा मतदाताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

काँग्रेसले लोकतन्त्रको रक्षा, विकास निर्माणमा तीव्रता, उद्योग–व्यवसाय प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने एजेन्डासहित चुनावी अभियान अगाडि बढाएको र प्रधानमन्त्रीका उम्मेद्वार समेत रहेका पार्टी सभापति सहितका नेताहरुकाे उपस्थितीले स्थानीय उम्मेदवारको जित सुनिश्चित गर्न थप ऊर्जा र उत्साह थप्ने विश्वास लिइएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताए ।

५ निर्वाचन क्षेत्र रहेकाे रुपन्देहीमा नेपाली काँग्रेसबाट क्षेत्र नं. १ मा हिराबहादुर खत्री, २ मा चुन्नप्रसाद शर्मा पाैडेल, ३ मा सुशील गुरुङ, ४ मा आसुताेष मिश्रा र ५ मा भरतकुमार शाह उम्मेद्वार छन् ।

You may also like

This will close in 0 seconds