विकास, सुशासनसंगै मतदाताका समस्याहरु समाधान गर्छु : चुन्न प्रसाद पौडेल

मतदातासँग भेटघाट गर्दै आशीर्वाद र सुझाव संकलन

by समतल अनलाइन
63Shares

बुटवल।फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब ८ दिन मात्र बाँकी रहँदा चुनावी माहोल झन् तीब्र पारिएको छ ।

रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रिता सेन ओलीले बुधबार नवौं दिनको घरदैलो अभियानलाई निरन्तरता दिएका छन् ।

उम्मेदवार चुन्नप्रसाद पौडेलले विकास, सुशासनसंगै मतदाताका समस्याहरु समाधान गर्ने बताए । बिहान ७ बजेबाट सुरु भएको घरदैलो अभियान बुटवल उपमहानगरपालिका–१० को रामनगर क्षेत्रबाट प्रारम्भ भएको थियो । रामनगरबाट सुरु भएको टोली बुटवल राजमार्ग चौराहा आसपासका टोल हुँदै विभिन्न टोलमा पुगेको थियो । उम्मेदवारहरूले घरघरमा पुगेर मतदातासँग भेटघाट गर्दै आशीर्वाद र सुझाव संकलन गरे ।

अभियान पथबाट योगिकुटी क्षेत्र हुँदै सर्विस लेनमार्फत पुनः चौराहामा आएर सम्पन्न भएको थियो । घरदैलोका क्रममा स्थानीयले आफ्ना टोलका विभिन्न समस्या खुलेर राखेका थिए । विशेषगरी ढल निकासको समस्या, टोल सुधार कार्यक्रमको आवश्यकता, सडक स्तरोन्नति र सरसफाइ व्यवस्थापनका विषयमा गुनासा आएका थिए । उम्मेदवार पौडेलले स्थानीयका समस्या नोट गर्दै समाधानका लागि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले विकास निर्माणका अधुरा कामलाई पूरा गर्दै व्यवस्थित शहरी विकासमा जोड दिने बताएका थिए ।

त्यसैगरी दिउँसो १ बजेबाट बुटवल उपमहानगरपालिका–८ मा पनि घरदैलो अभियान सञ्चालन गरिएको थियो । उक्त क्षेत्रमा शुक्रपथ, कुशुमपथ, धर्मपथ, राजमार्ग चौराहा, त्रिभुवनपथ, दशरथपथ, श्रवणपथ र भाटभटेनी लाइन आसपासमा पुगेर उम्मेदवारहरूले मतदातासँग भेटघाट गरेका थिए । स्थानीय बासिन्दाले खानेपानी, ढल निकास, सडक व्यवस्थापन तथा ट्राफिक समस्याका विषयमा आफ्ना धारणा राखेका थिए ।

केही स्थानमा ढल निकासको अभावले वर्षायाममा समस्या हुने गरेको गुनासोसमेत आएको थियो ।घरदैलो अभियानका क्रममा स्थानीयले उम्मेदवारलाई फूलमाला, टीका तथा खादा लगाएर स्वागत गरेका थिए । चुनावी अभियानमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिँदै घरदैलो अभियानलाई अझ तीव्र बनाएका छन् । कांग्रेसका उम्मेदवार पौडेलले विकास, सुशासन र स्थानीय समस्या समाधानलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताएका छन् । अब बाँकी दिनहरूमा पनि विभिन्न वडामा घरदैलो तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने प्रचारप्रसार संयोजक तथा क्षेत्रीय सभापति प्रजापाल गिरीले बताए ।

You may also like

This will close in 0 seconds