सुकुम्वासी मतदाताका भरोसायोग्य उम्मेदवार

by समतल अनलाइन
82Shares

बुटवल। आफ्नो घर–जग्गाको लालपूर्जा नहुँदा सबैभन्दा पीडा भोग्ने वासिन्दा हुन्– अव्यवस्थित र सुकुम्वासी वस्तीका वासिन्दा । उनीहरुले त्यस जग्गा वा घरलाई बैंकमा राखेर न कुनै कामका लागि लोन (ऋण) लिन पाउँछन, न भनेको बेलामा सहजै बिक्रि गर्न सक्छन् । मूलकुरा त उनीहरुले आफ्नै सम्पत्ती माथिको हक लालपूर्जा पाएका छैनन् ।

सुकुम्वासी वस्तीका वासिन्दाको मुख्य गुनासो छ– ‘अघिपछि गाउँघरमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर दिनदिनै भोट माग्न आउँछन् । आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन् ।’ जनताले गुनासो गरिरहेको यहीं समयमा मंगलवार दिउँसो रुपन्देहीको सैनामैना– १ पेरिसडाँडा टोलमा टुपलुक्क पुगे रुपन्देही– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ । उनीसंगै पुगे केही गाडी र बाईकको लस्करमा तारा चुनाव चिन्ह अंकित झण्डा हल्लाउदै सैनामैनाकै राजनीतिक अगुवाहरु । उनीहरुको मुख्य उद्देश्य थियो– आफ्ना उम्मेद्वारको पक्षमा भोट माग्नु ।
तर सैनामैनाका वासिन्दालाई भने चुनावी भोटको चिन्ता भन्दा पनि लामो समयदेखि लालपूर्जा नपाएको चिन्ता थियो । त्यो चिन्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट रुपन्देही क्षेत्र नं २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’संग पनि मिल्दो जुल्दो थियो । किनकी उनी पनि संैनामैनाकै वासिन्दा हुन् । अन्य मतदाताले जस्तै आफू स्वय्मले पनि घरजग्गाको लालपूर्जा पाएका छैनन् ।

वस्तिको चोकमा जम्मा भएका मतदाताले उनलाई स्थानीय समस्या बताउन थाले । सडकमा नाली व्यवस्थित नहँुदा वर्षाको समयमा वस्ती डुबानमा पर्ने गरेको , पक्की सडकको निर्माण र रोजगारीको समस्या रहेको आदी सुनाउँदै आफ्नै भूमिको अधिकारबाट बञ्चित भएर सुकुम्वासी बन्नु परेको नमिठो पीडा सुनाए ।

लगत्तै स्थानीय वासिन्दालाई सम्बोधन गर्दै उनले भने– ‘मेरो घर पनि सैनामैना बनकट्टामै पर्छ । म स्वयं पनि लालापूर्जाविहीन नागरिक हुँ । आफ्नो घरको लालापूर्जा नहुँदाको पीडा मैले नजिकबाट भोगेको छु ।’ उम्मेदवार पाण्डेलाई नचिनेका केही स्थानीयले खासखुस कुरा गर्न थाले । सैनामैनाकै उम्मेदवार हो भन्ने कुराले उनीहरुको ध्यान खिच्यो । तर उम्मेदवार पाण्डे बोल्नमा रोकिएनन् । उनले थपे– ‘आज बुटवललाई बाहिरबाट जति चिटिक्क र सुन्दर देखाए पनि हजारांै नागरिकले भूमि माथिको अधिकार प्राप्त गर्न सकेका छैनन् । त्यसैले यसपटक तारा चुनाव चिन्हमा मतदान गरेर मलाई संसदमा पठाइदिनुहोस् । म तपाईंहरूकै प्रतिनिधि बनेर, लालापूर्जाविहीन सबै नागरिकको समस्या समाधान गर्न विशेष पहल गर्नेछु । र, सबैको लालपूर्जा व्यवस्थित रूपमा उपलब्ध गराउने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

उनी बोलेर सक्दा नसक्दै स्थानीयले मत माग्न आएकाहरुसंग नै उम्मेदवार विश्वदीपको विगत बुझिसकेका थिए । उनी स्व. भक्ति पाण्डेका छोरा हुन् भन्ने बुझेपछि खुलेर स्थानीयले भने– ‘आफ्नै सम्पत्ति भएर पनि सुकुम्वासी भईयो । हामीलाई आश्वासन नदिनु । पूर्जा दिलाउन पहल गर्नू । हाम्रो आर्शीवाद छ ।’

तर यत्तिकुराले उम्मेदवार पाण्डेको मन खुस थिएन । किनकी उनलाई चुनाव त लागेको थियो नै, त्यो भन्दा आफ्ना बुवा स्व. भक्ति पाण्डले विगतको निर्वाचनमा देखेको सपना पुरा नभएकोमा दःुखी थिए । त्यसैले उनले खुलेर स्थानीयसंग भने– ‘निर्वाचनमा विजयी भएपछि मैले यो भूमी र यहाँका वासीन्दालाई धोका दिने छैन । वुवाको सपना पुरा गर्छु । लालपूर्जा दिलाएरै छाड्ने छु ।’
सैनामैना यस्तो वस्ती हो, जसको जगबिना बुटवलको विकास अधँुरो र अपुरो हुँदैछ । नेकपाका उम्मेदवार पाण्डेले यहीं कारण सैनामैनाका टोल–टोलमा घरदैलो गर्दै भने– ‘सैनामैनाको विकासले नै समग्र रुपन्देहीको विकासको ढोका खोल्न सक्दछ । त्यसैले यहाँका वासिन्दाको भूमी माथिको पूर्ण अधिकार लालपूर्जाको ग्यारेन्टी गरिने छ ।’

सैनामैना नगरपालिकाका जनप्रतिनिधि भुवनबहादुर क्षेत्रीका अनुसार पालिकाभित्र १६ हजारभन्दा बढी अव्यवस्थित बसोवासी रहेका छन । ती मध्ये वडा नं १ का एक सय ७३ वटा लालपूर्जा मात्र हालसम्म बाँडिएको छ, नापीको काम सकिएको छ । यस वडामा मात्रै झण्डै ४ हजार पाँच सयले राजस्व बुझाउने गर्दछन । तर अधिकांश वडामा नापजाँच नै भएको छैन ।

सैनामैनाका वडा नं २, ३, ४, र ७ मा नापी भएपनि केही ठाँउमा नापजाँच हुन बाँकी रहेको एवं अन्य वडामा नापी नै नभएको जनप्रतिनिधि क्षेत्रीले बताए । उनले कैयौं वडामा पुरानो पूर्जावाला र ऐलानी जग्गा रहेको उल्लेख गरे । उनले भने– ‘विगतदेखि अहिलेसम्म अव्यवस्थित बसोवासी र सुकुम्वासीको पक्षमा कुनै पनि सरकारले काम गर्न सकेनन् । ईच्छा शक्ति भए सैनामैनामा ६ देखि ८ महिनामै सबैलाई लालपूर्जा दिलाउन सकिन्छ ।’ यद्यपी निर्वाचन क्षेत्र नं २ मा सैनामैनाका वडा नं १, २ , ३ र ४ मात्रै पर्दछन ।
अव्यवस्थित र सुकुम्वासी समस्या सैनामैनाको मात्रै समस्या होईन, रुपन्देही क्षेत्र नं २ मा पर्ने बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा पनि उस्तै छ । निर्वाचनका बेला यी ठाँउका वासिन्दाले दैलोमै लालपूर्जा पाएको अनुभूति गर्छन अर्थात मौखिक आश्वासन पाउँछन । तर उम्मेदवारले निर्वाचन जितेपछि उनीहरुलाई ‘उपयोग गर र फ्याक’ को व्यवहार देखाउँछन ।
रुपन्देही २ नम्बर क्षेत्रका तारा चुनाव चिन्हका उम्मेदवार विश्वदीपले भने बोलेको कुरा
मा आफू प्रतिवद्ध रहेको बताए । भोट तान्न सुकुम्वासीका समस्याबारे बोलेको त होईन नी ? भन्ने प्रश्नमा उनले भने– ‘मैले अहिले नै बोलेका कुरा नगरेर राजनीतिक भविश्य धरापमा पार्नु छैन । अरुले बोले, काम गरेनन् । मैले बोलेको पनि छु, काम पुरा गरेर पनि देखाउँछु । कानुनसम्मत हुने काम पनि नभईरहेको अवस्थालाई अन्त्य गर्न पहल लिन्छु ।’
बुटवलको वडा नं ११ मा सबैभन्दा धेरै अव्यवस्थित र सुकुम्वासी वस्ती छन । त्यहाँ रहेका झण्डै १९ हजार मतदाता मध्ये ५० प्रतिशत अव्यवस्थित बसोवासी छन् । त्यस्तै वडा नं. १, २, १८ र १९ पनि सुकुम्बासी धेरै भएका वडा हुन् । त्यसबाहेक तिलोत्तमाको वडा नं १, २, ३, ४, ५, र ६ वडा पनि यहीं क्षेत्रमा पर्दछन । तिलोत्तमामा पनि अव्यवस्थित र सुकुम्वासी समस्या विद्यमान छ । वडा नं ३, ४ र ६ मा लालपूर्जा नपाएको बसोवासी बढी छन भने अन्य वडामा पनि पूर्जाबिहिन वासिन्दा छन । तिलोत्तमामा पनि अव्यवस्थित र सुकुम्वासीको समस्या अन्यत्र जस्तै समान छ । १ लाख ३५ हजार ५० मतदाता रहेको यस क्षेत्र सबैभन्दा बढी सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको क्षेत्र समेत हो । सुकुम्वासी र भूमिहिन मतदाताले आउँदो २१ गते जसलाई आर्शिवाद दिन्छन, उहीं उम्मेदवारको विजयीको ढोका खुल्ने प्रवल संभावना छ ।

You may also like

This will close in 0 seconds