स्थानीय जनप्रतिनिधि चुनाव प्रचारप्रसारमा संलग्न नहुन आयोगको निर्देशन

by समतल अनलाइन
61Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय कार्यपालिकाका पदाधिकारीलाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको छ । केही स्थानीय तहका जनप्रतिनिधि राजनीतिक दल तथा उम्मेदवारको चुनावी प्रचारमा सहभागी भएको भन्ने उजुरी प्राप्त भएपछि आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिता, २०८२ लागू गरिएको स्मरण गराउँदै यसको पूर्ण पालना गर्नु सबै सरोकारवालाको दायित्व भएको स्पष्ट पारेको छ। राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले आचारसंहिताको पूर्ण पालना गरिरहेका छन् वा छैनन् भन्ने विषयमा आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क) को प्रतिबन्धात्मक वाक्यांशअन्तर्गत बुँदा नं. (४) मा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्ने व्यवस्था रहेको उल्लेख छ । साथै, सोही दफाको खण्ड (ख) अनुसार प्रचारप्रसारमा सहभागी हुँदा सरकारी स्रोत-साधन प्रयोग गर्न नपाइने व्यवस्था छ ।

यस आधारमा आयोगले स्थानीय कार्यपालिकाका पदाधिकारीलाई आफू कार्यरत रहेको स्थानीय तहमा कुनै पनि दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसार नगर्न सचेत गराएको छ। साथै, पदको मर्यादा, तटस्थता र कानुनी दायित्वलाई मनन गर्दै आचारसंहिता विपरीत गतिविधिमा संलग्न नहुन स्पष्ट निर्देशन दिएको छ ।

आयोगले आचारसंहिता उल्लंघन गरेको पाइएमा दफा ४८ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै, जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत तथा सम्बन्धित निकायलाई प्रभावकारी अनुगमन गर्न आग्रह गरिएको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको बताएका छन् ।

You may also like

This will close in 0 seconds