सातौ खड्ग प्रसाद गौचन यु–१९ क्रिकेट:न्यु होराईजनलाई उपाधि

by समतल अनलाइन
97Shares

बुटवल।रुपन्देहीमा सम्पन्न सातौ संस्करणको यू–१९ खड्ग प्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि न्यू होराईजन स्र्पोटस क्लबले चुमेको छ । शनिबार भएको फाईनलमा नेपथ्य तिलोत्तमा एकेडेमीलाई ८८ रनले पराजित गर्दै न्यू होराईजन च्याम्पियन बनेको हो । उपाधिसंगै न्यू होराईजनले नगद ४० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता तिलोत्तमा भने नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा प्लेयर अफ दी सिरिज न्यू होराईजनका दर्श सुनार बन्दै नगद १० हजार, न्यू होराईजनकै सुरज खड्का उत्कृष्ट बलर तथा तिलोत्तमाका सन्दिप यादव उत्कृष्ट ब्याट्सम्यान घोषित हुदै नगद ५÷५ हजार रुपैयाबाट पुरस्कृत भए ।

यसैबिच नेपाली महिला क्रिकेटमा महत्पूर्ण योगदान दिउकी पहिलो अन्तराष्ट्रिय खेलाडी सरस्वती लामगादेलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको फाईनल खेलमा टस जितेर नेपथ्य तिलोत्तमाले बलिङ रोज्दै न्यू होराईजनलाई ब्याटिङ्गको निम्तो दिएपछि निर्धारित ५० ओभरमा ९ बिकेटको नोक्सानीमा २७२ रनको योगफल तयार गरेको थियो । न्यू होराईजनका दर्श सुनारले शानदार १११ बलमा ९९ रनको योगदान दिए । आरिफ खानले ५० बलमा ४९ तथा सुरज खड्काले ४२ बलमा ४४ रन बनाए । तिलोत्तमाका सागर भण्डारीले ३ तथा शशिधर टण्डनले २ बिकेट लिए । बिशाल लक्ष्य पछ्याएको नेपथ्य तिलोत्तमा भने पुरै ओभरमा १८४ रनमात्र जोड्न सफल भयो । उसका लागि ओपनर सन्दिप यादवले ५६ बलमा ३१, सागर भण्डारीले ४६ बलमा २८ रन बनाए । कम स्कोरमा रोक्न न्यू होराईजन सुरज खड्काले ३ तथा प्रिन्स पालले २ बिकेट लिए । खेलमा दर्श सुनार प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच न्यू होराईजन माबिका प्राचार्य लोकनाथ उपाध्याय, एकेडेमीका निर्देशक कविता गौचन, प्रशिक्षक शक्ति गौचन, बुटवल क्रिकेट विकास समितिका कार्यवाहक अध्यक्ष रोमित बज्राचार्यले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले आफनो स्वर्गिय बुबा खड्ग प्रसाद गौचनको स्मृतिमा यो पटक १९ वर्ष मुनिका खेलाडीहरुलाई लक्षित गरि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी, न्यु होराईजन स्पोर्टस क्लब क्रिकेट, एक्सलेन्स सेन्टर काठमाण्डौ, पोखरा क्रिकेट एकेडेमी, रुपन्देही क्रिकेट एकेडेमी, वेष्ट्रन क्रिकेट एकेडेमीले उपाधिका लागि प्रतिस्प्रर्धा गरेका थिए ।

You may also like