जनताको काम सहज, सरल र पारदर्शी बनाउँदै बुटवललाई समृद्ध नगर बनाउने लक्ष्य : नगर प्रमुख पाण्डेय

by समतल अनलाइन
75Shares

बुटवल। बुटवल उपमहानगरपालिकाले आफ्नो ६७औँ स्थापना दिवस आइतबार एक औपचारिक कार्यक्रम आयोजना गरी मनाएको छ। निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै कार्यक्रम संक्षिप्त तथा प्रतिनिधिमूलक रूपमा सम्पन्न गरिएको थियो।

कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिकाले विगत तीन वर्षमा गरेका मुख्य उपलब्धिहरूबारे विस्तृत जानकारी दिएका थिए। उनले विकासका विभिन्न आयाम पहिचान गर्दै स्रोत व्यवस्थापनमार्फत बुटवललाई समृद्धिको यात्रातर्फ अघि बढाइएको बताए।

नगर प्रमुख पाण्डेयले बुटवलबासी जनताले दिएको माया, सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै जनताले प्रत्यक्ष रूपमा सुशासनको अनुभूति गर्न सक्ने वातावरण बनाउने प्रयास गरिएको उल्लेख गरे। “जनताको कामलाई सहज र सरल बनाउनु हाम्रो प्राथमिकता हो,” उनले भने।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले न्याय सम्पादन, अनुगमन तथा राजस्व संकलन क्षेत्रमा भएको प्रगति सार्वजनिक भएको बताइन्। उनले आफू महिला आन्दोलनबाट राजनीतिमा आएको स्मरण गर्दै उपमहानगरपालिकाले महिला सशक्तिकरणमा ठूलो लगानी गरेको जानकारी दिइन्।

उनका अनुसार सीपमूलक तालिममार्फत केही महिलाले मासिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। उनले विकासलाई सडक पीच, हरियाली र बत्तीमा मात्र सीमित नगरी मकै पोल्ने, गिट्टी कुट्ने जस्ता श्रमजीवी नागरिकलाई पनि सहयोग गरिएको स्पष्ट पारिन्।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनप्रसाद वझा तथा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेललगायतले शुभकामना व्यक्त गरेका थिए।

वक्ताहरूले देशभरका उपमहानगरपालिकामध्ये बुटवलले समृद्धि र सुशासनमा उत्कृष्टता हासिल गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा बधाई ज्ञापन गरे।

उपस्थित वक्ताहरूले बुटवल ऐतिहासिक, सामरिक, रणनीतिक, व्यापारिक, औद्योगिक, यातायात, स्वास्थ्य, शिक्षा, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको चर्चा गरे। उनीहरूले बुटवलसँग जोडिएका अन्य नगरपालिका तथा गाउँपालिकाले पनि यहाँको विकास अनुभवबाट पाठ सिक्नुपर्ने बताएका थिए।

कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालसहित कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन योजना शाखा प्रमुख ठगिश्वर पोखरेलले गरेका थिए।

You may also like