काँग्रेस नेताहरुले भने – प्रधानमन्त्री कसलाई बनाउने हो, विचार गरेर मत दिनुहोला

by समतल अनलाइन
75Shares

बुटवल। नेपाली काँग्रेसका नेताहरूले देशको आगामी प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयलाई गम्भीर रूपमा विचार गरेर मात्रै मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।

उनीहरूले वर्तमान राजनीतिक परिवेशमा प्रमुख दलहरूले आ–आफ्ना नेताहरूलाई प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा अघि सारेको सन्दर्भ उल्लेख गर्दै देशको भविष्यका लागि सक्षम नेतृत्व रोज्नुपर्ने बताएका हुन्। नेपाली काँग्रेसले पार्टी सभापति गगनकुमार थापा, नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेको चर्चा कार्यक्रममा गरिएको थियो।

नेपाली काँग्रेस पाल्पा–रुपन्देही सम्पर्क समितिको आयोजनामा बुटवलमा शनिबार भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेताहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा पाल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू तथा बुटवलमा बसोबास गर्दै आएका पाल्पाली मतदाताबीच छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजेन्द्रगोपाल सिंह, रामबहादुर कार्की तथा पाल्पाका पूर्व सभापति वीरबहादुर रानाले देश अस्थिर राजनीतिक अवस्थाबाट गुज्रिरहेको उल्लेख गरे। यस्तो अवस्थामा मुलुकलाई सही दिशा दिन सक्ने नेतृत्व आवश्यक रहेको उनीहरूको भनाइ थियो।

उनीहरूले काँग्रेस नेतृत्वमा सरकार बने मात्रै स्थायित्व, समन्वय र दीर्घकालीन योजना कार्यान्वयन सम्भव हुने दाबी गरे। “मतदाताले राम्रोसँग विचार गरेर मतदान गरे यस क्षेत्रमा अधिकांश सिटसहित काँग्रेसलाई बहुमत ल्याउन कुनै समस्या हुँदैन,” नेताहरूले भने।
रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार चुन्नप्रसाद पौडेलले पाल्पा र रुपन्देहीबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरे। पहिले बुटवलबाट पहाडी जिल्लामा नुनतेल बोक्ने चलन स्मरण गर्दै उनले पाल्पाको विकासले रुपन्देहीको विकासलाई पनि सकारात्मक प्रभाव पार्ने बताए।

उनले अहिलेको निर्वाचन विशेष परिस्थितिमा भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा सबै दललाई मिलाएर लैजान सक्ने, स्पष्ट भिजन र मिसन भएको नेतृत्व आवश्यक रहेको धारणा राखे। “देशको बागडोर सम्हाल्न सक्ने नेतृत्व काँग्रेससँग छ, त्यसैले चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गर्दछु,” उनले भने।

पाल्पा क्षेत्र नम्बर १ का उम्मेदवार सन्दीप राना र क्षेत्र नम्बर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले बुटवलमा बस्दै आएका पाल्पाली मतदातालाई मतदानका लागि गृहजिल्ला पुग्न आग्रह गरे।

उम्मेदवार श्रेष्ठले पाल्पालाई ‘स्टे हब’का रूपमा विकास गर्ने योजना प्रस्तुत गर्दै पर्यटकीय गन्तव्यको रूपमा अगाडि बढाइने बताए। उनले रुपन्देही आसपासका जिल्ला र भारतबाट आउने पर्यटकलाई आकर्षित गर्ने गरी पूर्वाधार विकास गरिने उल्लेख गरे।
उनका अनुसार बसाइँसराइका कारण रित्तिँदै गएका गाउँहरूलाई पुनः चलायमान बनाउन विशेष योजना ल्याइनेछ। गाउँको सामाजिक, आर्थिक र औद्योगिक विकास गरी युवालाई रोजगारी सिर्जना गर्ने वातावरण बनाइने उनको प्रतिबद्धता थियो।

त्यस्तै, उम्मेदवार रानाले पनि वर्तमान विषम परिस्थितिमा काँग्रेस उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै पाल्पाको समग्र विकास, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारमा प्राथमिकता दिइने बताए।
कार्यक्रम नेपाली काँग्रेस पाल्पा–रुपन्देही सम्पर्क समितिका अध्यक्ष सुरेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा समानुपातिक उम्मेदवार रिता सेन, पाल्पाका उपसभापति झपेन्द्र गैरे, बुटवल नगरसमितिका सभापति तथा नगरप्रमुख खेलराज पाण्डेय, किशोर पंगेनी लगायतले पनि मन्तव्य राखेका थिए।
नेताहरूले अन्त्यमा लोकतन्त्रलाई सुदृढ बनाउन सचेत र जिम्मेवार मतदाताको भूमिका महत्वपूर्ण हुने भन्दै सोचविचारपूर्वक मतदान गर्न पुनः आग्रह गरेका छन्।

You may also like