देवदह–तिलोत्तमामा खत्रीको घरदैलो: मतदाताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता

by समतल अनलाइन
61Shares

देवदह । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार हिराबहादुर खत्रीले मतदाताको चाहना र आवश्यकतालाई प्राथमिकतामा राख्दै घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
खत्रीले रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत देवदह र तिलोत्तमा नगरपालिका क्षेत्रमा पर्ने विभिन्न वडामा घरदैलो गर्दै नागरिकसँग प्रत्यक्ष भेटघाट गरेका हुन् ।

उनले मतदाताको सुझाव र अपेक्षालाई आधार मानेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार तिलोत्तमा नगरपालिका वडा नम्बर १७ लगायत विभिन्न टोलमा पुगेर घरदैलो गरेका खत्रीले आफू विकास, कृषि र युवाको रोजगारीका मुद्दा लिएर चुनावी मैदानमा उत्रिएको बताए । उनले नागरिकका आधारभूत आवश्यकता, नवयुवाको चाहना र क्षेत्रको समग्र विकासलाई ध्यानमा राखेर उम्मेदवारी दिएको स्पष्ट पारे ।
खत्रीले क्षेत्र नम्बर १ कृषिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै यहाँ आधुनिक कृषि, व्यवसायिक खेती र उत्पादन वृद्धिका लागि विशेष योजना आवश्यक रहेको बताए । उनले कृषिमा आत्मनिर्भर बन्न सकिने धेरै आधारहरू रहेको भन्दै त्यसको खोजी र कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको जनाए ।

घरदैलोका क्रममा उनले कृषिको सम्भावना, कृषिक्रान्ति, योजना तथा भावी रणनीतिबारे मतदातासँग छलफल गरेका थिए । किसानलाई प्रोत्साहन गर्ने, उत्पादन वृद्धि गर्ने र बजार व्यवस्थापन सहज बनाउने विषयमा रणनीतिक योजना तयार पार्दै आएको पनि उनले जानकारी दिए ।

खत्रीले “मतदाताको विश्वास नै मेरो मुख्य शक्ति हो,” भन्दै जनताको साथ र सुझावका आधारमा क्षेत्रको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता दोहोर्याए ।

You may also like