अर्थतन्त्र सही ढंगले चल्न सही सूचना प्रवाह आवश्यक : अर्थमन्त्री खनाल

by समतल अनलाइन
19Shares

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना प्रवाह अपरिहार्य रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ र राष्ट्रिय सूचना आयोगले काठमाडौंको तीनकुनेमा संयुक्त रूपमा आयोजना गरेको ‘मिडियामा सूचनाको हकको प्रयोग : अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री खनालले सही सूचनाको महत्त्व औंल्याएका हुन्।

‘अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना प्रवाह आवश्यक हुन्छ ।’ उनले भने।

समाजलाई शान्त, सभ्य र सौम्य राख्न पनि सही समयमा सही कारणले सूचना दिनुपर्ने उनको भनाइ थियो। एउटै सूचना कसैले दुई दिनमा र कसैले १५ दिनमा पाउँदा त्यसले ठूलो फरक पार्ने उनले जिकिर गरे।

‘अर्थतन्त्रको सही विकासको निमित्त, हाम्रा आफ्नै क्रियाकलाप पनि सही तरिकाले सञ्चालनको निमित्त, समाजलाई शान्त, सभ्य र सौम्य राख्नको निमित्त सही सूचना सही समयमा सही कारणले दिनुपर्ने हुन्छ,’ उनले भने ।

मन्त्री खनालले सूचनाको हक समाचारका लागि भन्दा पनि कतिपय अवस्थामा स्वार्थ समूहले अन्य प्रयोजनका लागि प्रयोग गर्ने गरेको उल्लेख गरे। अर्थ मन्त्रालयबाट मागिने सूचनाको प्रयोग स्वार्थअनुसार हुने गरेको गुनासोसमेत उनले गरे।

‘अर्थ मन्त्रालयमा पत्रकारबाट सूचना माग गरिएको सूचना करिब–करिब छैनन् । किन भने धेरै सूचनाहरू वेवसाइटमै प्रकाशित हुन्छन् । कसले माग्यो भन्दा कुनै बेलामा पत्रकार भएको होला अथवा अरू नै भूमिकामा होला । त्यो सूचना लिएर कतै गएर प्रयोग गर्ने गतिविधि देखिन्छ,’ उनले भने, ‘त्यस्ता गतिविधिबाट हामी सचेत हुनुपर्छ । सूचना अत्यन्त महत्त्वपूर्ण छ ।’

सूचनाको हक सरकारी क्षेत्रसँगै व्यावसायिक क्षेत्रमा पनि लागू हुने उल्लेख गर्दै उनले यसको प्रभावकारी कार्यान्वयन र नागरिकसम्म प्रचार–प्रसार गर्न आवश्यक रहेकोमा जोड दिए।

You may also like