काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको सम्मानसँगै वर्तमानलाई जोडेर मात्र राष्ट्रको भविष्य सुदृढ हुन सक्ने बताएका छन्।

रुकुम पूर्वका उम्मेदवारसमेत रहेका प्रचण्डले भूमे-२, खाबाङ बगरमा ३०औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा फागुन २१ केवल अतीतको स्मरण मात्र नभई वर्तमान जिम्मेवारी र भविष्यको मार्गदर्शनसमेत भएको बताए। उनले भने, ‘सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता, समानता र न्यायका पक्षमा नेपाली जनताले ऐतिहासिक विद्रोहको मसाल यही दिन प्रज्वलित गरेको हो।’
सम्बोधनमा प्रचण्डले जनयुद्ध तथा विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरे र घाइते, अपांग तथा बेपत्ता योद्धाहरूको उच्च सम्मान व्यक्त गरे। रुकुम पूर्वलाई क्रान्ति र शान्तिको साक्षी भूमि भन्दै उनले यस ठाउँबाट वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह सुरु भएको स्मरण गराए।
महिलाहरूले घुम्टो फालेर स्वतन्त्रताको आवाज उठाएको, आदिवासी–जनजाति समुदायले पहिचान र स्वाभिमानका लागि संघर्ष गरेको, र दलित समुदायले जातीय उत्पीडनविरुद्ध आवाज बुलन्द गरेको इतिहास पनि उनले उल्लेख गरे।
चुनवाङमा बसेको तत्कालीन नेकपा (माओवादी) बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खुलेको स्मरण गर्दै वर्तमान राजनीतिक परिस्थितिबारे प्रचण्डले देश जटिल अवस्थाबाट आगामी निर्वाचनतर्फ अघि बढिरहेको बताए।
भदौ २३ गते सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेका युवामाथि गोली चलेको घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘युवाहरूको आक्रोशलाई व्यवस्थाविरोधी तत्वहरूले विध्वंसतर्फ मोड्ने प्रयास गरिरहेका छन्, लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न सबै सचेत हुनुपर्छ।’
पञ्चायती व्यवस्थाविरुद्ध रुकुमका जनताको संघर्ष स्मरण गर्दै प्रचण्डले ‘किलो सेरा’ जस्ता दमनकारी अभियानका बाबजुद जनताले विद्रोहको बाटो नछोडेको बताए। इतिहासलाई वर्तमानसँग जोडेर मात्र सुदृढ भविष्य निर्माण गर्न सकिनेमा जोड दिँदै उनले जनयुद्धका उपलब्धि, लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायका पक्षमा एकताबद्ध हुन आह्वान गरे।



