काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी मुद्दाको तारेख बुझेर चुनावी अभियानमा फर्किएका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका बालेन दिउँसो सर्वोच्च अदालत पुगेर तारेख बुझी फर्किएको मुद्दा फाँटका एक कर्मचारीले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता यदुनाथ खनालका अनुसार बालेन दिउँसो करिब २ बजे एक सुरक्षाकर्मीको साथमा सर्वोच्च अदालत पुगेका थिए।
तीन वर्षअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि बालेनले असन्तुष्टि जनाएका थिए। त्यसपछि सामाजिक सञ्जालमार्फत अदालत र सरकारलाई छिमेकी मित्रराष्ट्र भारतसँग जोडेर आपत्तिजनक अभिव्यक्ति दिएको जिकिर गर्दै अधिवक्ता वर्षा कुमारी झाले उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेकी थिइन् ।
यस मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले तारिखका लागि वारेश राख्न दिएको निवेदन अस्वीकार गरेको छ। इजलासले स्वयम् उपस्थित हुन आदेश दिएपछि बालेन अदालत पुगेका हुन् ।
बालेनले त्यतिबेला सामाजिक सञ्जालमा लेखेका थिए,’जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्ने वाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधीनमा थियो भनी सके पछि उनीहरू को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’
00000



