बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु: चुन्नप्रसाद पौडेल

by समतल अनलाइन
54Shares

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ मा बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । कालिकानगरमा आयोजित कार्यक्रममा वक्ताहरूले बदलिएको सन्देशसहित काँग्रेस एक ढिक्क भएर चुनावी अभियानमा जुटेकाले देशभर जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

कार्यक्रममा बोल्दै नेताहरूले काँग्रेसले नेतृत्वसँगै कार्यशैली पनि परिवर्तन गरेर जनतामाझ आएको उल्लेख गरे । उनीहरूले घरघरमा पुगेर पार्टीका एजेण्डासहित मत माग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट रुपन्देही–२ का उम्मेदवार बनेका वरिष्ठ उद्योगी तथा समाजसेवी चुन्नप्रसाद पौडेलले आफू बुटवल–११ कै बासिन्दा भएकाले यहाँका समस्याबारे जानकार रहेको बताए । निर्वाचन जिताएर पठाए बुटवल–११ का भूमिहीन सुकुम्बासीको समस्या समाधान गरी लालपूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले तिनाउ करिडोरको समस्या समाधानलाई पनि प्राथमिकतामा राख्ने बताए । काँग्रेस नेतृत्वको सरकारले मात्रै मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन सक्ने उल्लेख गर्दै काँग्रेस नेतृत्वको सरकार गठनका लागि आफूलाई जिताउन आग्रह गरे ।

पौडेलले यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकास आफ्नो पहिलो प्राथमिकता हुने बताउँदै त्यसका लागि आम मतदातासँग समर्थन मागे । २००७ सालयता मुलुक संकटमा पर्दा काँग्रेसले नै निकास दिएको स्मरण गराउँदै वर्तमान चुनौतीको समाधान पनि काँग्रेस नेतृत्वबाटै सम्भव हुने विश्वास व्यक्त गरे ।

काँग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले जेनजी आन्दोलनपछि काँग्रेसले आत्मसमीक्षा गर्दै आफूलाई रूपान्तरण गरेको बताए । बद्लिएको काँग्रेसले अब देशको अवस्था बदल्ने गरी अघि बढेको उनको भनाइ थियो । जेनजी युवाहरूको भावना र अपेक्षाअनुसार देशलाई अघि बढाउन काँग्रेस नेतृत्व आवश्यक रहेको उनले उल्लेख गरे । रूपान्तरित काँग्रेसले देशको नेतृत्व गरेमात्र मुलुक समृद्ध बन्ने र संविधान सही ढंगले कार्यान्वयन हुने उनको दाबी छ ।
प्रदेश कोषाध्यक्ष प्रकाश रानाले अन्य दलका उम्मेदवारको अनुहार र व्यवहार जनताले देखिसकेको भन्दै ‘नयाँ’ का नाममा भइरहेको राजनीति देशका लागि घातक हुन सक्ने टिप्पणी गरे । उनले जनताबीच काँग्रेसले देश निर्माणमा गरेको योगदान र स्पष्ट एजेण्डा रहेको बताए ।

नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीका सभापति तथा प्रचारप्रसार मूल समितिका संयोजक प्रजापाल गिरीले देशको विकास र समृद्धिका लागि काँग्रेसको जित अनिवार्य रहेको बताए । अन्य दलले प्रोपोगान्डा र निराशा फैलाएर राजनीति गरिरहेको आरोप लगाउँदै उनले काँग्रेस भ्रष्टाचारविरुद्ध निर्मम रूपमा अघि बढ्ने दाबी गरे । स्पष्ट योजनासहित चुनावमा होमिएको र चुनावपूर्व हुने गठबन्धन संस्कृतिको अन्त्य गर्नु बदलिएको काँग्रेसको उपलब्धि भएको उनले बताए ।

कार्यक्रममा प्रदेश सदस्य बालकुमारी भण्डारी, ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ, बुटवल–११ का वडासभापति जितबहादुर मल्ल, उपसभापति दुर्गा बहादुर खत्री, सचिव यज्ञप्रसाद न्यौपाने, जेनजी समूहका सिद्धार्थ कोइराला लगायतले पनि बोल्दै काँग्रेसलाई जिताएर देशकै पहिलो पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

You may also like