पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

by समतल अनलाइन
70Shares

काठमाडौँः हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति पनि हिमाली भू–भागमा साधारणतया बदली रहनेछ । पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुन सक्ने सम्भावना छ ।

महाशाखाले तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभाव रहने र हिमाली क्षेत्रमा चिसो बढ्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन, पदयात्रा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने जनाएको छ । त्यसैले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ ।

You may also like