काठमाडौँ।नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन १ गतेदेखि पार्टीका क्रियाशील सदस्यले आफ्नो निर्वाचन क्षेत्र नछोड्न निर्देशन दिएका छन्। उनले फागुन २१ को चुनाव सकिनुअघि सम्म आफ्नो क्षेत्र नछोड्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सोमबार बिर्तामोडमा झापा-२ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले भने, ‘तपाईँहरूले गर्ने कुनै काम छ भने फागुन १ अगाडि नै सकाउनुहोस्। फागुन १ पछि आफ्नो निर्वाचन क्षेत्र छोडेर बाहिर जाने वा चुनावमा असहयोग गर्ने काम कसैले गर्न पाउनु हुँदैन।’
उनले यस पटक कांग्रेस बोलीमा मात्र नभई व्यवहारमा परिवर्तन भएर चुनावमा होमिएको बताए। कार्यकर्तालाई परिवर्तित कांग्रेसबारे आम मतदातालाई बुझाउन तथा विश्वासको वातावरण बनाइराख्न आग्रह गरे।
कांग्रेस निर्वाचन परिचालन समितिका केन्द्रीय संयोजक समेत रहेका शर्माले विगतमा जस्तो चुनावभर आफ्नै कार्यकर्तालाई फकाउनुपर्ने अवस्था यस पटक नभएको स्पष्ट पारे । उनले भदौ २३ र २४ गते भएका घटनालाई गलत ठहराउँदै, ‘भदौ २३ गते सरकारबाट गल्ती भयो । २४ गते जेनजीको नाममा केही व्यक्ति र समूहले गलत गरे,’ भने । शर्माले ती दिन गलत गर्नेहरूलाई आवश्यक छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे।
फागुन २१ को चुनावका लागि झापा-२ बाट कांग्रेसका उम्मेदवार पूर्वमन्त्री सरिता प्रसाईँ छन् । उक्त क्षेत्रमा कांग्रेसका ६४ सय क्रियाशील सदस्य रहेको कांग्रेस क्षेत्रीय सभापति खगेन्द्र मैनालीले जानकारी दिए। मैनालीका अनुसार, झापा–२ मा एक क्रियाशील सदस्यले घरभित्रको ४ र छिमेकीको ४ भोट गरी कुल ८ भोट सुरक्षित गर्नुपर्ने अभियान चलाइरहेका छन् ।



