बुटवलमा नेवार समुदायका लागि सामूहिक ईही र कय्ता पूजा माघ २० र २१ गते

by समतल अनलाइन
52Shares

बुटवल । श्री नेवाः सेवा समिति बुटवलले नेवार समुदायका बालबालिकाका लागि सामूहिक ईही (बेल विवाह) तथा बालकहरूका लागि सामूहिक कय्ता पूजा (ब्रतबन्ध तथा उपनयन संस्कार) कार्यक्रम आयोजना गर्ने भएको छ।

बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले उक्त कार्यक्रम यही माघ २० र २१ गते बुटवल–११ स्थित भूपू सैनिक भवनको प्राङ्गणमा आयोजना हुने जानकारी दिएको हो।
समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठका अनुसार बुटवलसहित पश्चिम नेपालका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायका बालबालिकाको कार्यक्रममा सहभागिता रहनेछ। निवर्तमान अध्यक्ष चिरञ्जीवी श्रेष्ठले हालसम्म ईही पूजाका लागि ६२ जना कन्या तथा कय्ता पूजाका लागि १४ जना बालकले नाम दर्ता गराइसकेको जानकारी दिनुभयो।

नेवार समुदायमा अनिवार्य मानिने यी संस्कारहरू बुटवलमा यसअघि १५ पटक सम्पन्न भइसकेका छन्। यस वर्ष कार्यक्रम १६ औँ संस्करणका रूपमा आयोजना गर्न लागिएको समितिले जनाएको छ।
कार्यक्रम संयोजक अञ्जु श्रेष्ठका अनुसार पहिलो दिन बिहान सहभागी कन्याहरू भेला भएपछि नेवाः सेवा समितिको अवलोकनसहित सांस्कृतिक र्याली आयोजना गरिनेछ। पूजासम्बन्धी मुख्य विधि तथा संस्कारहरू भने दोस्रो दिन माघ २१ गते सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो।

यसैगरी, समितिका सचिव लक्ष्मण श्रेष्ठले सामूहिक रूपमा संस्कार आयोजना गर्दा खर्च कम हुने, संस्कारको महत्व संरक्षण हुने र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सबै अभिभावक, समुदाय र सरोकारवालाहरूको सहयोग आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।

You may also like