म सत्ताको लागि चुनाव लड्दिन, देशको भविष्यको लागि लड्छु : प्रचण्ड

by समतल अनलाइन
32Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनाव सत्ताको लागि नभएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै प्रचण्डले आफू सत्ताका लागि नभएर देशको भविष्य र युवा पुस्ताको सपना पूरा गर्न चाहेको बताएका छन् ।

पुराना नेताहरूको भिडमा नरहेको प्रचण्डको प्रष्टीकरण

दाहालले आफूलाई पुराना नेताहरूको भिडमा नरहेको प्रष्टीकरण दिँदै भने, ‘म त्यो सत्ताको सम्झौतामा कहिल्यै संलग्न हुन चाहन्न, जसले देशलाई बन्धक बनाएर राखेको छ।’ उनले सन्तान, जीवनसंगिनी र सहयोद्धाको बलिदानपछि सत्ताको लोभ नरहेको बताएका छन् र भविष्यले आफ्नो निष्ठालाई प्रमाणित गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रचण्डले भने, ‘यो संघर्ष मेरो व्यक्तिगत होइन, यो त ती हजारौँ शहीदहरूको सपना पूरा गर्ने यात्रा हो, जसे सुन्दर र समृद्ध नेपालका लागि आफ्नो रगत बगाए।’ उनले परिवर्तनको प्रक्रिया सुनिश्चित गर्न दृढ प्रतिबद्धता जनाए र यो परिवर्तनको यात्रामा आफूलाई अगाडि बढाउने विश्वास व्यक्त गरे।

युवाहरूको मागसँग एकता

प्रचण्डले भने, ‘युवाहरूले भ्रष्टाचारको अन्त्य, पारदर्शिता र बलियो सरकारको माग गरेका छन्, यो मेरो पुरानो माग हो।’ उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाको महत्त्वमा जोड दिँदै देशको राजनीतिक स्थिरता र विकासका लागि यो आवश्यक भएको बताए।

देशको भविष्यका लागि संघर्ष जारी

उनले भने ‘आज तपाईहरूले मलाई खलनायकको रूपमा देख्नुहुन्छ, तर म इतिहासको पानामा हराउन चाहेनौँ । म यो देशलाई सही दिशामा पुर्‍याएपछि विश्राम लिनेछु।’ उनले भने, ‘म हार मान्न तयार छैन किनकि मेरो काम अझै सकिएको छैन।’

प्रचण्डले नयाँ पुस्तालाई स्वतन्त्र चिन्तन र प्रश्न सोध्न प्रोत्साहन गरेका छन् । उनले भने, ‘आजको डिजिटल युगमा सामाजिक सञ्जालका भ्रमहरूले तपाईँलाई बहकाउन सक्छन्, प्रश्न सोध् नछोडनुहोस, म त्यसको जवाफ दिन तयार छु।’

You may also like