नेवार समुदायको परम्परागत भिमसेन रथयात्रा बुटवलमा सम्पन्न

by समतल अनलाइन
54Shares

बुटवल। बुटवल–३ ज्योतिनगरस्थित भिमसेन नेवा: समाज तथा भिमशेन नेवा: मयजु समाजको आयोजनामा परम्परागत भिमसेन रथयात्रा सम्पन्न भएको छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको उक्त रथयात्रा विशेष पूजाआजासहित ज्योतिनगर समाज भवनबाट सुरु भई नगर परिक्रमा गर्दै समापन गरिएको हो।

बाजागाजा सहित सुरु भएको रथयात्रा बुटवल बहुमुखी क्याम्पस रोड, ट्राफिक चोक, राम मन्दिर, अमरपथ, पुलचोक, गोलपार्क हुँदै पुनः भिमसेन सेवा समाज परिसरमा पुगेर सम्पन्न भएको थियो। रथयात्रामा नेवा: समुदायका साथै स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा सांसद भोज प्रसाद श्रेष्ठले नेवा: संस्कृति, सामाजिक एकता र परम्पराको संरक्षण आवश्यक रहेको बताउँदै नेवा: सम्बतलाई राष्ट्रिय मान्यता दिनुपर्ने माग गरे। भाषा, लिपि र सांस्कृतिक पहिचान जोगाउन स्थानीयदेखि संघीय सरकारसम्मको पहल अपरिहार्य रहेको उनको भनाइ थियो।

त्यसैगरी बिशिस्ट अतिथी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले भिमसेन रथयात्रा नेवार समुदायका लागि मात्र नभई सम्पूर्ण बुटवलवासीका लागि महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको उल्लेख गरे।

उनले पुरातात्विक कला, संस्कृति र मौलिकतालाई जोगाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।

बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रा देवी अर्यालले संस्कृति र परम्पराको संरक्षणसँगै महिलालाई समान अवसर दिनु आवश्यक रहेको बताइन्।

पूर्व उपमेयर विमल बहादुर शाक्यले भिमसेन रथयात्राको ऐतिहासिक पृष्ठभूमि स्पष्ट पार्दै यसको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

भिमसेन नेवा: समाजका अध्यक्ष शहदेव श्रेष्ठले पुर्खाले सुरु गरेको जात्रालाई निरन्तरता दिनु वर्तमान पुस्ताको दायित्व भएको बताए। उनले नेवार संस्कृतिलाई जातीय सीमाभन्दा माथि उठाएर सभ्यताको रूपमा विकास र प्रवर्द्धन गर्नुपर्ने धारणा राखे।

नेवा: समाजका पूर्व अध्यक्ष लिला प्रसाद श्रेष्ठले भावी पुस्ताले पनि संस्कृति जोगाउन सक्रिय भूमिका खेल्नुपर्ने बताए।

रथयात्रा समापनपछि नेवा: भोजको आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले परम्परागत नेवारी परिकारको स्वाद लिएका थिए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने महासचिव विष्णु प्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा विभिन्न जनप्रतिनिधि, नेवा: समुदायका अग्रज तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भिमसेनलाई व्यापार, उद्योग तथा समृद्धिका देवताको रूपमा पूजा गरिन्छ। हिन्दू धर्मअनुसार उनी महाभारतका पाँच पाण्डवमध्येका एक पराक्रमी योद्धा हुन्। नेवार समुदायमा भिमसेनप्रति विशेष आस्था रहेको छ। व्यापारिक उन्नति, शक्ति, समृद्धि तथा कल्याणको प्रतीक मानिने भिमसेनको पूजा विशेषगरी व्यापारी तथा व्यवसायी समुदायले गर्ने परम्परा रहँदै आएको छ। भिमसेन जात्रा नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग गहिरो रूपमा जोडिएको पर्व हो।

You may also like