काठमाडौँ–तराई फास्ट ट्रयाक ४५ प्रतिशत सम्पन्न, २०८३ चैतभित्र सक्ने लक्ष्य

by समतल अनलाइन
64Shares

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ-तराई फास्ट ट्रयाक’ निर्माणको काम करिब आधा पूरा भएको छ । नेपाली सेनाले जिम्मेवारी पाएको आठ वर्ष र निर्माण सुरु भएको करिब साढे चार वर्षमा परियोजनाको भौतिक प्रगति ४५.१६ प्रतिशत पुगेको छ ।

नेपाल सरकारले २०७४ वैशाखमा फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। त्यसपछि डीपीआर निर्माण, कन्सल्ट्यान्ट छनोट र ठेक्का प्रक्रिया पूरा गर्न चार वर्ष लागेको थियो। निर्माण कार्य ३१ जेठ २०७८ बाट मात्र प्रारम्भ भएको थियो ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, परियोजना २०८३ चैत भित्रै सम्पन्न हुने गरी काम भइरहेको छ। फास्ट ट्र्याकमा कुल १०.९७९ किलोमिटर सुरुङ मार्ग पर्छ। लेन डाँडा (१.६२६ किमी) र धोद्रे (१.६९१ किमी) सुरुङको ब्रेक थ्रु भइसकेको छ भने महादेवटार सुरुङको ७० प्रतिशत काम सम्पन्न भएको छ ।

परियोजना अन्तर्गत बन्नुपर्ने ८९ पुलमध्ये १३ वटा निर्माण भइसकेका छन् र बाँकी ८५ वटाको ठेक्का भइसकेको छ।

मन्त्रिपरिषद्ले २१ वैशाख २०७४ मा द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २७ साउन २०७४ मा सेनालाई आयोजना हस्तान्तरण गरेको थियो। द्रुतमार्गको कुल दूरी ७०.९७७ किलोमिटर छ।

You may also like