रुकुम पूर्वबाट उम्मेदवारी दिने निर्णयलाई हल्का नबुझौं : प्रचण्ड

by समतल अनलाइन
19Shares

काठमाडौँ।नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध अघि बढाएको पहलले केही स्वार्थ समूह असन्तुष्ट बनेको र त्यसैले सरकार परिवर्तन भएको बताएका छन्।

रुकुम पूर्व-काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजना गरिएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘सुशासन, सामाजिक न्याय र आर्थिक उन्नतिलाई केन्द्रमा राखेर अघि सारेका पहलहरूले निश्चित स्वार्थ समूहलाई असहज बनाएको छ।’

प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा भ्रष्टाचार नियन्त्रण र सामाजिक विभेद अन्त्यका लागि कडा कदम चालिएको उल्लेख गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलन कायम राख्दै विकास प्रक्रियामा गति दिन खोज्दा अवरोध आएको बताए । रुकुम पूर्वबाट उम्मेदवारी दिने निर्णयलाई सामान्य क्षेत्र परिवर्तनका रूपमा नबुझ्न पनि उनले आग्रह गरे ।

प्रचण्डले रुकुम पूर्वलाई आफ्नो राजनीतिक अभियानका लागि उपयुक्त ठानेको कारण जनयुद्धको मुख्य आधार क्षेत्र हुनु, गणतन्त्रको अवधारणा अघि बढेको इतिहास र समावेशी अधिकारको नीति रहेको सम्झँदै बताए ।

चुनावी लाभका लागि नभई विकास, उत्पादन र रोजगारीमा आधारित ठोस मोडेल निर्माणका लागि त्यहाँ जाने योजना रहेको उनले बताए । जडीबुटी, पर्यटन, जैविक कृषि र आधुनिक भेडा पालन जस्ता सम्भावनाबाट हजारौँ युवालाई रोजगारीमा जोड्ने र समाजवादी अभ्यासको आधार तयार गर्ने लक्ष्य उनले प्रस्तुत गरे।

तेस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा जनयुद्धका सहिद र बेपत्ता योद्धालाई राष्ट्रिय सहिदको रूपमा राजपत्रमा सूचीकृत गरियो र पीडित परिवारका लागि रोजगारी तथा आर्थिक परिपूरणसम्बन्धी विधेयक तयार गरिएको जानकारी पनि उनले दिए।

बाँकी राजनीतिक जीवन राष्ट्र हित, सुशासन र समाजवादी रूपान्तरणमा समर्पित रहने र रुकुम पूर्वका जनताको विकास आकाङ्क्षा पूरा गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

You may also like