सरकारले निर्वाचनको वातावरण बनाएको छैन : ओली

by समतल अनलाइन
33Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा हुन नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञसँग सुझाव लिन आयोजित छलफलमा अध्यक्ष ओलीले यो टिप्पणी गरेका हुन् ।

प्रचार संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिअनुसार, ओलीले भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्‍याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले पार्टीले हाल भइरहेका राज्य संयन्त्रका गतिविधि र कामकारबाही नजिकबाट नियालिरहेको उल्लेख गर्दै, सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको आरोप लगाए ।

शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने भएकाले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिनेछ।’ उनले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुनेमा जोड दिएका छन्।

अध्यक्ष ओलीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहना पूरा गर्ने गरी घोषणापत्रको तयारी भइरहेको जानकारी दिएका छन् ।

एमालेले व्यावहारिक र पाँच वर्षमा ठोस उपलब्धि हासिल गर्न सक्ने कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

You may also like