प्रचण्डलाई विप्लवको जवाफ : गठबन्धन नगर्नेले मात्र ‘एकताको जाली’ बोल्छन्

by समतल अनलाइन
38Shares

काठमाडौँ।नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुनावी गठबन्धन गर्न प्रचण्ड तयार नभएको बताएका छन् । पार्टी एकताका लागि प्रयास गर्दा विप्लव तयार नभएको भन्दै प्रचण्डले दिएको अभिव्यक्तिपछि विप्लवले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।

‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो,’ प्रचण्डलाई संकेत गर्दै विप्लवले लेखेका छन्, ‘यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेप्ट्याएका हुतिहारा मात्र पर्छन् ।’

विप्लव नेतृत्वको पार्टी परित्याग गरी आएका चिरञ्जीवी ढकालसहितका नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा भित्र्याउने क्रममा प्रचण्डले विप्लवलाई लक्षित टिप्पणी गरेका थिए । सो क्रममा प्रचण्डले जेन्जी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ओझेलमा परेको र ऐतिहासिक अवसर गुमाएको बताएका थिए ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विप्लवले रोल्पाबाट उम्मेदवार बन्ने तयारी गरेका थिए । तर, माओवादी केन्द्रले रोल्पाबाट वर्षमान पुन ‘अनन्त’लाई उम्मेदवार बनाएको छ।

यसअघि विप्लव नेतृत्वको पार्टीको स्थायी समिति बैठकले माथिल्लो तहका नेताहरू निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको थियो ।आफू उम्मेदवार बन्ने क्षेत्रमा समेत माओवादी गठबन्धनका लागि तयार नभएको संकेत गर्दै विप्लवले प्रचण्डलाई जवाफ दिएको बताइएको छ ।

दुवै पार्टीबीच यसअघि एकताका लागि पटक-पटक छलफल भएको थियो । सोही क्रममा गत भदौ ९ मा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरिसिद्धी निवास पुगेर विप्लवसँग भेटवार्ता गरेका थिए ।

You may also like