सुस्ताएको बुटवललाई फेरि चलायमान बनाउने संकल्पसहित मैदानमा छु : चुन्न प्रसाद शर्मा पौडेल

by समतल अनलाइन
83Shares

बुटवल। नेपाली कांग्रेसका महासमिति सदस्य एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार समाजसेवी चुन्न प्रसाद शर्मा पौडेलले सुस्ताएको बुटवललाई पुनः चलायमान बनाउने दृढ संकल्पका साथ आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभएको छ।

गुल्मी–रुपन्देही सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले बुटवलको आर्थिक, सामाजिक र विकासको गतिलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो उम्मेदवारी केन्द्रित रहेको बताउनुभयो।

उहाँले नेपाली कांग्रेस अब पुरानो सोचमा सीमित नभई गगन थापा र विश्वप्रकाश शर्माको टिमले अघि सारेको नयाँ राजनीतिक खाकासहित पुनर्निर्माणको यात्रामा लागेको उल्लेख गर्नुभयो। सो टिमसँग आफ्ना भिजन, योजना र आइडिया साझा गर्दै बुटवललाई थप सक्षम, व्यवस्थित र अवसरमुखी सहरका रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता रहेको उहाँको भनाइ थियो।

पौडेलले बुटवल, सैनामैना र तिलोत्तमाका मतदाताले मतदान गरेर पठाएपछि ‘सही मान्छे छनोट गरिएछ’ भन्ने अनुभूति दिलाउने गरी काम गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो।

समाजसेवा, जनसम्पर्क र विकासप्रति इमानदार प्रयासकै कारण जनताको भरोसामा आफू खरो उत्रिने उहाँले दाबी गर्नुभयो।

You may also like