बुटवल। नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. १ र २ का उम्मेदवारहरूले अबको प्रधानमन्त्री गगनकुमार थापा हुने दाबी गर्दै कांग्रेसलाई जिताउन आग्रह गरेका छन्।

नेपाली कांग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिले तिलोत्तमामा आज आयोजना गरेको उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गुल्मीका दुवै क्षेत्रका कांग्रेस उम्मेदवारहरूले पार्टी रुपान्तरण भइसकेको र अब समग्र मुलुक बदल्ने क्षमता कांग्रेससँग रहेको बताएका हुन्।
नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं. १ का उम्मेदवार डा. चन्द्र भण्डारीले सिंगो कांग्रेस एक ठाउँमा उभिएको र देशभर उत्साहको वातावरण बनेको बताउनुभयो। उहाँले यस निर्वाचनमा कांग्रेसका ११० जना उम्मेदवार नयाँ अनुहार भएको उल्लेख गर्दै पार्टी परिवर्तन भएकै कारण जनस्तरमा आशा र उत्साह बढेको दाबी गर्नुभयो।
प्रतिनिधिसभा निर्वाचनपछि संविधान संशोधन आवश्यक रहेको भन्दै भण्डारीले अहिलेको राजनीतिक आवश्यकता पनि यही भएको बताउनुभयो। आफूले संसदमा रोपेको परिवर्तनको बीउबाट अहिले गगन थापाजस्ता नयाँ नेतृत्व निस्किएको उहाँको भनाइ थियो। रूख चिन्हमा मतदान गरेर कांग्रेसको सरकार बने सुशासनसहित देश बलियो बन्ने उहाँले बताउनुभयो।
त्यस्तै, नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ का उम्मेदवार भुवनप्रसाद श्रेष्ठले विशेष महाधिवेशनपछि कांग्रेस बदलिएर नयाँ उत्साहका साथ चुनावी मैदानमा होमिएको बताउनुभयो। अबको प्रधानमन्त्री गगनकुमार थापा हुने विश्वास व्यक्त गर्दै उहाँले रूख चिन्हमा मतदान गरेर देश बदल्नुपर्ने धारणा राख्नुभयो।
रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार चुन्नप्रसाद पौडेलले सबैको सहयोग र ऊर्जाले बुटवलमा कांग्रेसको विरासत पुनः फर्काउने बताउनुभयो। यसपटक नयाँ अनुहारसहित कांग्रेसका उम्मेदवार आएको उल्लेख गर्दै उहाँले काम गर्ने अवसर दिन मतदातासँग आग्रह गर्नुभयो।
कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले कांग्रेसकै नेतृत्वमा देश परिवर्तनको दिशामा अघि बढेको बताउँदै गुल्मीका दुवै क्षेत्रमा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभयो। उहाँले कार्यकर्ताहरूलाई उत्साहका साथ चुनावी अभियानमा जुट्न निर्देशन दिनुभयो।
गुल्मी–रुपन्देही सम्पर्क समितिका अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।



