काठमाडौँ।नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताएका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का मतदातालाई आज सम्बोधन गर्दै सभापति थापाले मधेसबारे सुनेका कुरा नजिकबाट बुझ्न यहाँ आएको बताए । सिमरा विमानस्थलमा ओर्लिएपछि विभिन्न स्थानमा मधेशका साथीहरूले गरेको स्वागत र देखाएको मायाले आफू उत्साहित बनेको उनको भनाइ थियो ।
नेपाली कांग्रेसका नेताको हैसियतले मधेशले कांग्रेस र लोकतन्त्रका लागि पुर्याएको योगदानबारे आफू जानकार रहेको सभापति थापाले बताए । उनले मधेशको भाषा, रहनसहन, वेशभूषा र संस्कृतिबारे सिक्ने प्रतिबद्धता जनाए ।
‘अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरूले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो’, उनले भने, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।’
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्दै मधेशका सवाल संसदमा पटक–पटक उठाएको उल्लेख गर्दै उनले यस पटक मधेश र यहाँका मुद्दा नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए । मधेशप्रति समर्पित नभई र मधेसलाई आत्मसात नगरी पूर्ण रूपमा नेपाली हुन नसकिने महसुस गरेर आफू मधेश आएको उनले स्पष्ट पारे ।



