अटेरी ऋणीमाथि सरकार कडा, महालेखाले तीन पुस्तेसहित नाम सार्वजनिक

by समतल अनलाइन
54Shares

काठमाडौँ । सरकारी ढुकुटीको रकम नतिरी बसेकाहरूका लागि महालेखा नियन्त्रक कार्यालयले कडा चेतावनी दिएको छ । पटक–पटक सूचना जारी गर्दा र घरमै पत्राचार गर्दा पनि अटेर गरेपछि कार्यालयले अब ऋणीहरूको चल–अचल सम्पत्ति नै रोक्का गरेर असुल उपर गर्ने प्रक्रिया अघि बढाएको हो ।

बबरमहलस्थित महालेखा नियन्त्रक कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी बाँकी रकम तिर्न बाँकी भएका व्यक्तिहरूको तीनपुस्ते विवरण नै सार्वजनिक गरेको छ । यसअघि पनि वेबसाइटमार्फत नाम सार्वजनिक गरिएको र उपस्थित हुन आग्रह गरिएको भए तापनि ऋणीहरूले बेवास्ता गरेपछि कार्यालय कडा रूपमा प्रस्तुत भएको हो ।

सूचनामा उल्लेख भएअनुसार अबको ३५ दिनभित्र सम्पर्कमा नआए र आफूले तिर्नुपर्ने साँवा तथा नियमानुसारको ब्याज नबुझाएमा प्रचलित कानुनबमोजिम सम्पत्ति दाबी गरिनेछ । यसरी सरकारी बाँकी असुल गर्दा सम्बन्धित व्यक्तिको आर्थिक वा सामाजिक प्रतिष्ठामा पुग्ने क्षतिप्रति कार्यालय जिम्मेवार नहुने समेत स्पष्ट पारिएको छ ।

लामो समयदेखि सरकारी बक्यौता नतिर्नेहरूको सूची लामो भएपछि सरकारले कडाइ गर्न थालेको देखिन्छ । तोकिएको समय सीमाभित्र फरफारक नगर्नेहरूको हकमा कानुनी कारबाहीको प्रक्रिया तत्कालै अघि बढ्ने कार्यालयले जनाएको छ ।

You may also like