काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा यस पटक केही कमजोरी देखिएको स्वीकार गरेका छन्।

आगामी निर्वाचनका लागि प्रधानमन्त्री पदका प्रस्तावित उम्मेदवारसमेत रहेका थापाले सीमित समयका कारण निर्णय प्रक्रियामा पर्याप्त तयारी हुन नसकेको बताए ।
सभापतिका रूपमा शपथ ग्रहण गरेपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी निर्वाचनदेखि प्रत्येक निर्वाचन क्षेत्रमा प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन गरिने स्पष्ट पारे । यस पटक देखिएका त्रुटि र कमजोरीलाई संगठनात्मक रूपमा सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता उनले जनाए ।
सभापति थापाले नेतृत्व ग्रहण गर्नु औपचारिक रूपमा सहज देखिए पनि त्यसको दायित्व वहन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गरे । पार्टीभित्र सुधार र अनुशासनलाई संस्थागत गर्ने दिशामा आफू केन्द्रित रहने उनको भनाइ थियो ।
उनले पार्टी नेता तथा कार्यकर्तालाई एउटै क्षेत्रमा केन्द्रित नहुन आग्रह गरे । सबैलाई आ-आफ्नो क्षेत्रमा फर्किएर मतदातासँग प्रत्यक्ष संवाद गर्न आह्वान पनि गरे। क्रियाशील कार्यकर्तामार्फत पार्टीमा आएको परिवर्तन र नयाँ दृष्टिकोण जनतासमक्ष पुर्याउनुपर्ने आवश्यकता रहेको उनले बताए ।



