बुटवल । दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । विद्याकी देवी सरस्वतीको पूजा–आराधना, स्तुति तथा ज्ञान प्राप्तिको कामनासहित विद्यालय प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ढाइदेखि तीन वर्षसम्मका ससाना बालबालिकालाई प्रविधिमैत्री वातावरणमा अक्षरारम्भ गराइएको थियो । परम्परागत तथा आधुनिक शैलीलाई संयोजन गर्दै आयोजना गरिएको अक्षरारम्भ कार्यक्रममा बालबालिकाले सेतो पाटी र स्मार्टबोर्डमार्फत कोमल हातले अक्षर लेख्दै लिखित ज्ञानको औपचारिक सुरुआत गरेका थिए । अनुभवी, दक्ष र बालमैत्री शिक्षकहरूको सहयोगमा बालबालिकाले विद्याकी प्रतीक देवी सरस्वतीको आराधनासँगै अक्षर सिकाइको पहिलो अनुभव लिएका थिए ।
बालसुलभ वातावरणमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य तथा प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टीकाराम न्यौपानेले विद्यालयले प्रविधिमैत्री वातावरणमा संस्कारयुक्त शिक्षा र जीवनोपयोगी ज्ञान प्रदान गर्दै आएको बताउनुभयो । उहाँले बालबालिकालाई अक्षर ज्ञानसँगै व्यवहारिक जीवनको वास्तविक बुझाइ दिनु विद्यालयको मुख्य लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ढोँजू, उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्य वसन्तकुमार जोशी र रेखा श्रेष्ठ तथा विद्यालय सहयोग समिति सदस्य प्रवीनमान श्रेष्ठ र विष्णुमाया श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
यस अवसरमा पाँच जना बटुकद्वारा स्वस्तिवाचन गरिएको थियो भने एक जना आचार्यले सरस्वती पूजाको महिमा र महत्वबारे प्रवचन दिनुभएको थियो ।



