शून्य लागतमा मलेसिया: ८ सय नेपालीलाई रोजगारीको अवसर

by समतल अनलाइन
62Shares

काठमाडौँ।शून्य लागतमा वैदेशिक रोजगारीमा गएर मासिक ६० देखि ६५ हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न गाह्रो पर्छ । अधिकांश युवाले खाडी मुलुक र मलेसियामा मासिक ३०–३५ हजार रुपैयाँ कमाउन दुईदेखि तीन लाख रुपैयाँसम्म खर्चेर जानुपरेको अवस्था छ । यही कारण शून्य लागतमा विदेश जान पाइन्छ भन्ने कुरा धेरैलाई अस्वाभाविक लाग्नु स्वाभाविक पनि हो । तर मलेसियाको बहुराष्ट्रिय कम्पनी विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडीले नेपालबाट शून्य लागतमा यो वर्ष ८ सय श्रमिक लैजाने माग गरेको छ ।

नेपालस्थित आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल सर्भिसेज प्रालिमार्फत न्यायोचित भर्ती प्रणालीअनुसार ६ सय महिला र २ सय पुरुष गरी ८ सय नेपाली श्रमिक मलेसिया पठाइँदैछ । विस्ट्रोन टेक्नोलोजीले सन् २०२२ देखि नै अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार नैतिक तथा शून्य लागत भर्ती प्रणाली अवलम्बन गर्दै आएको छ ।

आकर्षण इन्टरनेसनलका सञ्चालक विष्णु केसीका अनुसार कम्पनीले श्रमिक विदेश जाने सम्पूर्ण प्रक्रियामा लाग्ने खर्च आफैं व्यहोर्दै आएको छ । राहदानी बनाउनेदेखि भिसा प्रक्रिया, श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, बीमा, सामाजिक सुरक्षा तथा कल्याणकारी कोष, पूर्वप्रस्थान अभिमुखीकरण तालिम र आवत–जावतको टिकट खर्चस्वरूप प्रतिश्रमिक करिब १ लाख २० हजार रुपैयाँ पठाउने गरिएको छ ।

केसीका अनुसार कम्पनीले नेपाली श्रमिकलाई सुरक्षित, मर्यादित र ऋणमुक्त रोजगारी प्रदान गर्ने दीर्घकालीन प्रतिबद्धता जनाएको छ । मलेसियामा देखिएको श्रमिक अभाव पूर्ति गर्न दक्षिण एसियाली देशलाई स्रोत मुलुकका रूपमा छनोट गरी श्रमिक आपूर्ति हुँदै आएको पनि उनले बताए ।

नेपाल र मलेसियाबीच सन् २०१८ अक्टोबर २९ मा श्रम सम्झौता भएपछि मलेसियाका उत्पादन, निर्माण, सेवा, कृषि लगायतका क्षेत्रमा नेपाली श्रमिक वैधानिक र व्यवस्थित रूपमा जान थालेका छन् । शून्य लागतमा विदेश गएका श्रमिकले ऋण तिर्न नपरी आफ्नो आम्दानी औपचारिक माध्यमबाट नेपाल पठाउन सक्ने केसीको भनाइ छ ।

विस्ट्रोन टेक्नोलोजी बहुराष्ट्रिय कम्पनी भएकाले श्रमिकबाट कुनै पनि प्रकारको शुल्क लिन नपाइने स्पष्ट नीति रहेको छ । कम्पनीमा जाने श्रमिकले आफ्नो राहदानी आफैं राख्न पाउने, काम मन नपरे १५ दिनभित्र स्वदेश फर्किन सक्ने व्यवस्था पनि गरिएको छ । आकर्षण इन्टरनेसनलले विगत १० वर्षदेखि शून्य लागतमा वैदेशिक रोजगारी उपलब्ध गराउँदै आएको र गत वर्ष मात्र २ हजार ७०६ जनालाई मलेसिया पठाएको जनाएको छ । हाल मलेसियामा न्यूनतम तलब १ हजार ७ सय रिङ्गिट तोकिएको छ, जुन स्वदेशी र आप्रवासी श्रमिक दुवैका लागि समान रूपमा लागू हुँदै आएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीका अनुसार हाल वैदेशिक रोजगारीमा जानेमध्ये करिब १० प्रतिशत श्रमिक शून्य लागतमा र १५ देखि २० प्रतिशत सहुलियत शुल्कमा विदेश गइरहेका छन् । पछिल्ला वर्षहरूमा मलेसियाका बहुराष्ट्रिय कम्पनीले नेपाली श्रमिकलाई शून्य लागतमा लैजान थालेको उनले बताए ।

श्रमविज्ञ रामेश्वर नेपालका अनुसार मलेसियामा रहेका बहुराष्ट्रिय कम्पनीले सप्लाइ चेनमा संलग्न श्रमिकबाट कुनै शुल्क नलिएको सुनिश्चित गर्न कडाइ गरेपछि विशेषगरी इलेक्ट्रोनिक्स कम्पनीले श्रमिकको सम्पूर्ण लागत आफैं व्यहोर्न थालेका हुन् । उनका अनुसार बहुराष्ट्रिय कम्पनीमा काम गर्न जाने श्रमिकको कार्यस्थल सुरक्षित, मर्यादित र व्यवस्थित हुनुका साथै आम्दानी र सेवा सुविधा पनि तुलनात्मक रूपमा राम्रो हुन्छ ।

You may also like