पश्चिमी वायुको प्रभाव: केही प्रदेशमा वर्षा, हिमपात र असिनाको सम्भावना

by समतल अनलाइन
57Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जनसहित मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। यी प्रदेशका एक–दुई स्थानमा असिना पनि पर्न सक्नेछ।
आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम हिमपात वा वर्षा हुन सक्नेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ।

You may also like