बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सञ्चालन गरिरहेको मेची–महाकाली समाजवादी जागरण अभियान शनिबार रुपन्देही आइपुगेको छ । अभियान अन्तर्गत पार्टीले रुपन्देहीका तीन स्थानमा एकै दिन जागरणसभा आयोजना गर्दै सरकारविरुद्ध राजनीतिक दबाब बढाउने तयारी गरेको छ ।
अभियानका संयोजक प्रेम दर्नालका अनुसार सैनामैना, बुटवल र देवदहमा एकैसाथ सभा आयोजना गरी वर्तमान सरकारका नीति, कार्यशैली र निर्णयप्रति जनस्तरबाट असन्तुष्टि व्यक्त गरिने छ । पश्चिमको कञ्चनपुरबाट सुरु भएको जागरण यात्रा शनिबार रुपन्देही पुगेको हो ।
शनिबार बिहान बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संयोजक दर्नालले वर्तमान प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकार असफल भइसकेको आरोप लगाए । उनले सरकार विघटन गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने मागसहित १३ बुँदे राजनीतिक एजेण्डा अघि सारिएको जानकारी दिए ।
उनले मुलुकमा वैदेशिक हस्तक्षेप बढ्दै गएको भन्दै यसले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा सिर्जना गरेको दाबी गरे । साथै पछिल्लो समय देखिएको जेनजी आन्दोलनका मागहरू वर्तमान सरकारले सम्बोधन गर्न नसक्ने भन्दै त्यसबाट राजनीतिक निकास ननिस्कने बताए ।
“जेनजी आन्दोलनपछि न त आन्दोलनकारी सरकारमा समावेश भए, न त उनीहरूको माग पूरा भयो,” दर्नालले भने, “यसले वर्तमान सरकारको असक्षमता प्रष्ट देखाएको छ।”
उनले जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारबाट भएको दमन र मृत्युका घटनाको सत्यतथ्य छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग पनि दोहोर्याए ।
पार्टीका एजेण्डा जनतासमक्ष पुर्याउने उद्देश्यले सुरु गरिएको जागरण अभियान पश्चिम, मध्य र पूर्व तीन दिशाबाट एकैसाथ अघि बढाइएको छ । पश्चिमबाट कञ्चनपुर, मध्यपश्चिमबाट पर्सा हुँदै र पूर्वबाट पर्सा हुँदै सुरु भएका यात्राहरू हेटौंडा, सन्धुली र सुनसरी पुगेर समापन गरिने योजना छ ।



