शुद्धोदन। रुपन्देहीको शुद्धोदन गाउँपालिका–४ सौ फर्साटिकरस्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष १५ गतेदेखि सञ्चालन भइरहेको १३औँ शुद्धोदन फर्साटिकर कप फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिन शुक्रबारको खेल सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न खेलमा आयोजक फर्साटिकर युवा क्लब र मुन्स्टर गाइज नवलपरासी आमनेसामने भएका थिए । खेलमा आयोजक फर्साटिकर युवा क्लबले मुन्स्टर गाइज नवलपरासीलाई ४–० गोल अन्तरले पराजित गर्दै शानदार जित हात पारेको छ ।

फर्साटिकर युवा क्लबका जर्सी नम्बर ९ का अवतार थापा खेलका नायक बने । उनले पहिलो हाफमै लगातार ३ गोल (ह्याट्रिक) गर्दै टोलीलाई बलियो अग्रता दिलाए । अवतार थापाले खेलको ५औँ, १५औँ र ३०औँ मिनेटमा गोल गरेका थिए ।
त्यसैगरी, फर्साटिकर युवा क्लबकै जर्सी नम्बर १२ का निजम अलीले दोस्रो हाफको ३६औँ मिनेटमा टोलीका लागि चौथो गोल थपेका थिए ।
खेलको उत्कृष्ट प्रदर्शनका आधारमा फर्साटिकर युवा क्लबका खेलाडी अवतार थापा ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई काठमाडौँ फुटसल ग्रुपका प्रतिनिधि धिरज चन्द श्रेष्ठले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए ।
आयोजक क्लबका सचिव राजन खनालका अनुसार प्रतियोगिता अन्तर्गत शनिबार सिद्वार्थ क्लब चपरहट्टी र लिस्नु युवा क्लब कोटिहवाबीच प्रतिस्पर्धा हुने छ ।



