देउवाको कार्यकाल आगामी जेठसम्म थप्न प्रस्ताव

by समतल अनलाइन
58Shares

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यकाल थप्ने प्रस्ताव पेश गरेका हुन्।

यसैगरी कांग्रेसका सबै तह र निकायको कार्यकाल आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ। बैठकमा नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव गरिएको छ । यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६– २८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुनः नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको छ ।

नयाँ प्रस्तावअनुसार, आउँदो चैत २१ मा वडा अधिवेशन गर्न प्रस्ताव गरिएको छ। त्यस्तै, गाउँ तथा नगरपालिकाको अधिवेशन चैत २५ गर्ने प्रस्तावमा उल्लेख छ।

त्यसपछि चैत २८ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, आउँदो वैशाख २ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन प्रस्ताव गरिएको छ।

यसैगरी, दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लामा वैशाख ५ गते जिल्ला अधिवेशन प्रस्ताव गरिएको छ। प्रदेश अधिवेशन वैशाख १० देखि १२ गतेसम्म गर्ने कार्यवाहक सभापति खड्काको प्रस्ताव छ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् ।

You may also like