बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र कुलमान घिसिङको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह–इन्चार्ज किरण वि.क.ले उक्त कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिसकेको जानकारी दिए। उनका अनुसार ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशाल कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ।
वि.क.ले उज्यालो नेपाल पार्टीले लुम्बिनी प्रदेशमा संगठन विस्तारको काम तीव्र बनाएको बताए। उनले रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा पार्टीका प्रतिनिधि स्थलगत रूपमा पुगिसकेको र स्थानीय नागरिकमा पार्टीप्रति उत्साह देखिएको दाबी गरे।
उनका अनुसार पार्टीले रुपन्देही जिल्लाको कार्यसमिति गठन गरिसकेको छ भने लुम्बिनी प्रदेशका अन्य जिल्लामा पनि केही दिनभित्रै कार्यसमिति गठन गरिनेछ। पार्टीमा आवद्ध हुन चाहनेको संख्या बढेकाले सबैलाई समेट्ने उद्देश्यले जिल्ला कार्यसमिति गठनमा केही ढिलाइ भएको उनले स्पष्ट पारे।
पत्रकार सम्मेलनमा बोल्दै वि.क.ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग तत्काल एकता नहुने भए पनि आगामी निर्वाचनमा गठबन्धनको सम्भावना भने खुला रहेको बताए। साथै, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सबै वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याएर एउटै पार्टीमा आवद्ध गराउने दाबी समेत उनले गरे।
यसैगरी, वि.क.ले आगामी निर्वाचनमा आफू रुपन्देहीबाट नै उम्मेदवार बन्ने घोषणा गरेका छन्। उनले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २, ३ वा ५ मध्ये कुनै एक क्षेत्रबाट निर्वाचन लड्ने बताए।




