काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई थप मजबुत, संस्थागत र व्यापक बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी चौथो राष्ट्रिय संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपालले विपद् व्यवस्थापनको परम्परागत प्रतिकार्य केन्द्रित सोचबाट परिवर्तनको यात्रा सुरु गरिसकेको बताए ।
उनका अनुसार मुलुकले जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्राथमिकतामा राख्दै अगाडि बढिरहेको छ।
‘नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रूपान्तरणको यात्रा सुरु गरिसकेको छ । पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन तीन कुराहरू महत्त्वपूर्ण छन्,’ गृहमन्त्री अर्यालले भने।
उनले पूर्वानुमानमा आधारित पूर्वकार्य सफल बनाउन जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान तथा प्रभावमा आधारित पूर्वसूचना प्रणाली आवश्यक रहेको बताए।




