दुग्ध क्षेत्रमा चुनाैतीसंगै अवसर पनि : प्रतिस्पर्धी क्षेमताकाे गुणस्तरमा जाेड

by समतल अनलाइन
33Shares

बुटवल ।दुग्ध उत्पादन, संकलन, प्रशोधन र बजारीकरणका क्षेत्रमा देखिएका चुनौती, अवसर, समस्या र समाधानका विषयमा अन्तरक्रिया गोष्ठि गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोग तथा जिल्ला दुग्ध उत्पादन संघ लि. रुपन्देहीको समन्वयमा बुधबार तिलोत्तमाको मणिग्राममा केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले आयोजना गरेको अन्तरक्रिया गोष्ठिमा दुधको क्षेत्रमा अवसर र चुनौती समान रहेको र समस्याको सहि पहिचान गरेर समाधान गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका छन् ।

त्यसका लागि नीतिगत तहमा तीनै तहका सरकार तथा कार्यान्वयनका तहमा सरकारी निकाय, दुग्ध उत्पादक किसान, संकलक तथा प्रशोधन गर्ने उद्योग र वितरक बिच समन्वय र सहकार्यमा जोड दिईएको छ ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले हरेर व्यवसायमा अवसरसंगै चुनौतीपनि हुने भएकाले दुग्ध उत्पादनमा त्यो नहुने भन्ने नभएको र चुनौतीलाई अवसरमा बदल्ने काममा स्वयम् किसान तथा सम्बन्धित उद्योगी व्यवसायी भएको बताउनु भयो । उहाँले त्यसपछि सरकारको तर्फबाट नीतिगत रुपमा सहजिकरण गरिदिनुपर्ने बताउँदै स्थानीय सरकारको तर्फबाट तिलोत्तमा नगरपालिकामा घाँसको बिउ र दुधको उत्पादनमा अनुदान उपलब्ध गराईएको जानकारी गराउनु भयो । त्यस्तै पशुमा निःशुल्क भ्याक्सिनको व्यवस्थापन गरिएको बताउँदै पशुको नश्ल सुधारमा ध्यान दिन किसानलाई आग्रह गर्नुभयो ।

उहाँले किसानलाई स्थानीय सरकारको तर्फबाट के गर्दा सहज हुन्छ, कसरी उत्पादन बढाउन सकिन्छ, व्यवस्थित र दीगो बनाउन सकिन्छ, गुणस्तर बढाउन सकिन्छ, ती सबै कुरामा गहिरो अध्ययन र छलफल गरेर पालिकाले लिएको नीतिलाई परिस्कृत गर्न आफू तयार रहेको भनाई राख्नुभयो । त्यस्तैगरी उहाँले किसान र उपभोक्ता विचको दुरी घटाउनु पर्नेमा पनि जोड दिनुभयो । उहाँले उत्पादक र उपभोक्ता विचको दुरी घटाउन सकियो भने किसानले पनि बढी मुल्य पाउन सक्ने र उपभोक्ताले पनि कम मुल्यमा बस्तुको उपभोग गर्न सक्ने भएकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो । उहाँले दुध तथा दुग्धजन्य बस्तुको उत्पादनमा गुणस्तर बढाउन र प्रतिस्पर्धी क्षेमताको बनाउन पनि सुझाव दिनुभयो ।

कार्यक्रममा दुग्ध विकास बोर्डको निर्देशक बालक चौधरी र केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्दै दुग्ध उत्पादनको बर्तमान अवस्था, किसानका समस्या र चुनौतीहरु तथा समाधानका उपायहरु समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

विशेष गरेर दुग्ध उत्पादनमा घाँसको अभाव, उत्पादन लागत भन्दा कमजोर मुल्य, विक्रि भएको दुधको भुक्तानीमा समस्या, छिमेकी देशका उत्पादनसंग प्रतिस्पर्धामा कमजोर क्षेमता, गैरकानुनी रुपमा आयात हुने दुध तथा दुग्धजन्य पदार्थ मुख्य समस्या रहेको औंल्याउँदै यी समस्या समाधानको लागि चुनौती रहेको सरोकारवालाले उल्लेख गरेका थिए ।

त्यस अवसरमा नेपाल दुग्ध विकास संस्था, लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख कृष्णप्रसाद अर्यालले दुधको उत्पादन बढ्दै गएको र उपभोग घट्दै जानु, दुग्धजन्य पदार्थको स्टक रहनु जस्था कारणले भुक्तानीमा समस्या हुने गरेको बताउँदै डिडिसीमा त्यो समस्या विस्तारै हल गर्दै गएको बताउनु भयो ।
त्यस्तै नीजि क्षेत्रबाट सञ्चालित ग्लोवल डेरीका सञ्चालक थानेश्वर न्यौपानेले किसान भन्दा पनि दुग्ध संकलन गर्ने सहकारीहरुमा पनि समस्या देखिएको उल्लेख गर्नुभयो । उहाँले कतिपय सहकारीले आफ्नो कार्यक्षेत्रमा नै नपर्ने, सहकारीका सदस्य नै नभएको सीमावर्ती क्षेत्रबाट दुधको संकलन गर्ने र उद्योगलाई विक्रि वितरण गर्ने परिपार्टीले दुग्धजन्य बस्तुको गुणस्तरमा प्रश्न उठाएको बताउनु भयो ।
जिल्ला दुग्ध सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रीय दुग्ध सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेको स्वागत तथा महासचिव रामप्रसाद आचार्यको सञ्चालनमा भएको थियो ।

You may also like