बुटवल । बुटवलकै जेठो तथा ऐतिहासिक विद्यालय बुटवल माध्यमिक विद्यालयको ७४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह २०८२ सम्पन्न भएको छ। वि.सं. २००८ सालमा स्थापना भएको विद्यालयले आयोजना गरेको कार्यक्रममा शिक्षा क्षेत्रको सुधार र गुणस्तर अभिवृद्धिका विषयमा सरोकारवालाहरूले जोड दिएका छन्।
समारोहलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शैक्षिक क्षेत्रको प्रगतिका लागि सरकार मात्र होइन, शिक्षक, अभिभावक र स्थानीय समुदायको पनि प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक उन्नतिका लागि स्थानीय सरकारका तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेश र संघीय सरकारमार्फत आवश्यक सहयोग जुटाउन समन्वयकारी भूमिका आफूले खेल्ने घोषणा गर्नुभयो। साथै, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र समुदाय सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
पूर्व जिल्ला शिक्षा अधिकारी तथा विद्यालयका सल्लाहकार टेकबहादुर थापाले विगतमा बुटवल र आसपास क्षेत्रसहित साविक लुम्बिनी अञ्चलकै शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएको विद्यालय पछिल्लो समय कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। यति ठूलो इतिहास बोकेको विद्यालयले विभिन्न समस्या भोग्नु परेको उल्लेख गर्दै उहाँले समस्या समाधानका लागि सबै गम्भीर बन्न आग्रह गर्नुभयो।
बुटवल उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले पहिले बजेटको अभाव रहेको अवस्थामा अहिले बजेटको समस्या नरहे पनि कार्यान्वयन पक्ष कमजोर देखिएको बताउनुभयो। विद्यालय विकासमा स्थानीय समुदायको भूमिकाबारे चर्चा गर्दै उहाँले योजनाबद्ध ढंगले अघि बढेमा शैक्षिक गुणस्तर अझ प्रभावकारी बन्ने उल्लेख गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद प्रधानले शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो। उहाँले अभिभावक–शिक्षक सहकार्य, विद्यार्थी अनुशासन र सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राखेर विद्यालय अघि बढिरहेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझीले शिक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र प्रविधिको विकाससँगै बुटवल मा.वि.ले पनि गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुधार, भौतिक संरचना विस्तार तथा सहपाठ्यक्रम गतिविधि सुदृढीकरणमा ध्यान दिइरहेको बताउनुभयो।
कार्यक्रममा पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, सहायक प्रधानाध्यापक यज्ञप्रसाद सापकोटा, एकदेव रिजाललगायत वक्ताहरूले सामुदायिक सहभागितामै आधारित विद्यालय भएकाले समुदायको अग्रसरता र सक्रियताबाटै विद्यालय विकास सम्भव भएको धारणा राख्नुभयो। विद्यालयबाट अध्ययन गरेका धेरै व्यक्तिहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउन सफल भएको उल्लेखसमेत गरिएको थियो।
समारोहमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्याउने शिक्षक, अभिभावक र स्थानीय समाजसेवीहरूलाई सम्मान गरिएको थियो। साथै, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।


