काठमाडौँ । आज ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभर मनाइदैछ । आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ ।
यस बर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा ‘सामाजिक प्रगतिलाई अगाडि बढाउन अपाङ्गता समावेशी समाजहरूलाई प्रवर्द्धन गर्ने’ भन्ने रहेको छ । यस विषयवस्तुको अर्थ समाजलाई न्यायपूर्ण बनाउन र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सम्मान गर्न हामी सबै मिलेर काम गर्नु आवश्यक रहेको छ भन्ने हो ।
संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिहरूले गर्नुभएको सकारात्मक र उपलब्धिमूलक कथाहरूलाई पनि आज विश्व समुदायले विभिन्न माध्यम मार्फत अवलोकन गर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचनाका लागि पैरवी पनि गरिन्छ । हरेक सरकार अनि सङ्गठनहरूले अपाङ्गता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिबद्धता राखेका हुन्छन् र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन् भन्ने याद दिलाउने दिन पनि हो ।अपाङ्गता भएको जनसङ्ख्यालाई साथै लिएर हिँड्न नसक्ने हो भने संसारले दिगो र फराकिलो विकास पाउन सक्दैन ।
अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गताका लागि विशेष प्रविधि र व्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ । प्रत्येक विद्यालयहरूमा सहज अपाङ्गमैत्री शिक्षा जस्तै: ब्रेल लिपी अनि साङ्केतिक भाषामा शिक्षाको व्यवस्था, सहज आवत-जावतगर्न अपाङ्गमैत्री संरचना जरुरी छ । अपाङ्गता भएका साथीहरूमा राज्यले गरेका लगानी पक्कै खेर जाँदैन किनकि सक्षम नागरिक उत्पादन गर्न सके वहाँहरूको सेवा र क्षमताले राज्यको विकासमा नै थप टेवा पुग्नेछ ।


