८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सव सुरु: दुई लाख दर्शक सहभागी हुने अनुमान

by समतल अनलाइन
63Shares

बुटवल ।रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित मेला मैदानमा ८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले महोत्सवको उद्घाटन गर्दै स्वदेशी उत्पादनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन यस्तो मेला अत्यन्त उपयोगी हुने धारणा व्यक्त गर्नुभयो। उहाँले नगरभित्र रहेका साना तथा ठूला सबै उद्योगी–व्यवसायीले महोत्सवलाई अवसरको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँका अनुसार महोत्सवले केवल व्यापारिक गतिविधिकै लागि होइन, स्थानीय समुदायलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा उकास्न ठूलो योगदान पुर्‍याउने अपेक्षा छ। स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्ने बताउँदै प्रमुख खाँणले तिलोत्तमाका सबै संघसंस्था, राजनीतिक दल तथा सरोकारवालाले एकजुट भएर महोत्सव सफल बनाउन सहयोग पुर्‍याउन अपिल गर्नुभयो।

महोत्सवको उद्घाटन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले स्थानीय उद्यमी–व्यवसायीको व्यवसायिक उन्नतिमा महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। उनले तिलोत्तमा क्षेत्रमा स्थायी प्रकृतिको मेला स्थल निर्माणको आवश्यकता पहिल्यैदेखि उठ्दै आएको उल्लेख गर्दै अब नगरपालिकाले यो विषयमा प्राथमिकताका साथ पहल गर्नुपर्ने आवश्यकता औँल्याइन्।

त्यस्तै, महोत्सव आयोजक तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले पनि स्थायी मेला स्थल नभएकाले हरेक वर्ष व्यवस्थापनमा चुनौती हुने गरेको बताए। उनले संगठन साना उद्योगी–व्यवसायीलाई समेत साथमा लिएर मेला आयोजना गर्दै आएको बताउँदै नगरपालिकाले स्थायी संरचना निर्माणलाई प्राथमिकता दिनुपर्नेमा बल दिए।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस तिलोत्तमाका अध्यक्ष हरिलाल पाण्डे, एमाले अध्यक्ष मिनप्रसाद पोखरेल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग व्यापार संघ बुटवलका उपाध्यक्ष पदम जीसी, संगठनका उपाध्यक्ष भूपति न्यौपाने, महासचिव हेमलाल न्यौपाने, सचिव युवराज पराजुलीलगायतका वक्ताहरूले पनि मेला सफल पार्न सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको धारणा राखे।

महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिएको सचेतना र्यालीमा सहभागी समूहहरू मध्ये उत्कृष्ठ मानिएका समूहलाई पुरस्कार प्रदान गरिएको थियो। र्याली व्यवस्थापन उपसमिति संयोजक पवित्रा पौडेलका अनुसार पहिलो स्थान नेपाल मगर संघ तिलोत्तमाले हासिल गर्यो। दोस्रो लुम्बिनी एफएम टोल आमा समूह, तेस्रो नमूना टोल आमा समूह, चौथो कुन्ज टोल समूह र सान्त्वना पुरस्कार जापानिज कराँते–डो समूहले प्राप्त गरे। विजयी समूहलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

महोत्सवको पहिलो दिन बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो। कार्यक्रम संयोजक नितेश सिलवालका अनुसार एक सय १० जनाले रक्तदान गरी सामाजिक उत्तरदायित्वप्रति प्रतिवद्धता जनाए। उनले रक्तदान कार्यक्रमले महोत्सवलाई सामाजिक अभियानको रूपमा स्थापित गर्न मद्दत गरेको बताए।

महोत्सवलाई आकर्षक बनाउने उद्देश्यले विभिन्न कलात्मक तथा सांस्कृतिक संरचनाहरू निर्माण गरिएको छ। लन्डन ब्रिजको नमूना गेट, जलपरी (मरमेड) संरचना, कश्मिर भ्याली, आईफिल टावर, वाल उद्यानलगायतका आकर्षक डिजाईनहरूले दर्शकलाई नयाँ अनुभूति गराउने अपेक्षा गरिएको छ। मेलास्थलमा फोटो स्पट बनाइएकोले युवायुवतीका लागि पनि आकर्षण बढेको आयोजकको भनाइ छ।

यसपटक महोत्सवमा तीन सय स्टलहरू सहभागी छन्। स्टलहरूमा कृषि प्रविधिको प्रदर्शन, आधुनिक उपकरण, पर्यटन प्रवद्र्धन सामग्री, गार्मेन्ट उत्पादन, महिला उद्यमीका घरायसी उत्पादन तथा स्थानीय हस्तकलादेखि नवप्रविधिसम्मका वस्तुहरू प्रदर्शनी तथा बिक्री गरिएको छ। कृषि, उद्योग, पर्यटनसँगै साना तथा मध्यम उद्यमीलाई वृहत्तर बजार मज्जाले पाउन मद्दत गर्ने अपेक्षासहित स्टल संरचना व्यवस्थित गरिएको आयोजकहरू बताउँछन्।

महोत्सवमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएको छ। मंगलबारका लागि कलाकार रामजी खाँण, दिपक दर्लामी, बसन्त खनाल, विष्णु मगर तथा सोनी डान्स ग्रुपका प्रस्तुति तय गरिएको कलाकार दिपु मगरले जानकारी दिए। दैनिक रूपमा विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य प्रतियोगिता तथा स्थानिय कलाकारहरूको कार्यक्रमले महोत्सवलाई अझै रमाइलो बनाइरहेको छ।

८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ **पुस १ गतेसम्म** चल्नेछ। आयोजकका अनुसार यस वर्ष करिब दुई लाखभन्दा बढी दर्शक मेला अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवले स्थानीय उत्पादन, पर्यटन प्रवद्र्धन र सांस्कृतिक पहिचानलाई अझ ताजा रूपमा प्रस्तुत गर्दै तिलोत्तमालाई औद्योगिक तथा व्यावसायिक केन्द्रका रूपमा स्थापित गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

You may also like