काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले तोकेको मितिमै निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टी एकतापछि नेकपाले सन्देशसभा मार्फत चुनावी वातावरण बनाइरहेको उल्लेख गर्दै उनले फागुन २१ मै निर्वाचन गर्नुपर्ने बताए। ‘सरकार गठनमा हाम्रो पनि भूमिका छ, सरकारले बुझोस् कुनै आग्रह-पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छ,’ उनको भनाइ थियो ।
प्रचण्डले आन्तरिम सरकारका मन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आग्रह गरे। दीर्घकालीन काम गर्ने म्यान्डेट सरकारले नपाएको उनको भनाइ छ । देशका वर्तमान समस्याको समाधानका लागि उनले लोकतान्त्रिक पार्टीसँग सहकार्य गर्न आग्रह गरे।
उनले नेपालको शान्ति प्रक्रियामा कम्युनिस्ट र लोकतान्त्रिक पार्टी मिलेर अघि बढाएको स्मरण गर्दै, जेनजी आन्दोलनपछिको परिस्थितिको निकासका लागि पनि सहकार्य आवश्यक हुने धारणा राखे।

