बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले प्रतिजैविक प्रतिरोध रोकथामका लागि व्यक्ति–व्यक्तिमा सचेना पुर्याउन आवश्यक रहेको बताएकी छन् । दिन–प्रतिदिन मानवीय तथा जनावारहरुको स्वास्थ्यमा समेत औषधिको प्रभाव कम हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले यसका लागि हरेक व्यक्तिलाई सचेत गराउन आवश्यक रहेको उल्लेख गरिन् ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह समापनको अवसरमा सोमबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजना गरिएको अन्तरक्रियामा बोल्दै स्वास्थ्य सचिव श्रेष्ठले हामीले प्रयोग गर्ने औषधीको अर्थ र सही प्रयोगका बारेमा सचेतना आवश्यक रहेको बताइन् । यसका लागि स्वास्थ्य क्षेत्रले मात्रै काम गरेर प्रयाप्त नहुने बताउँदै उनले सबै क्षेत्रको पहलमा जोड दिइन् । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले ‘सबै नीतिमा स्वास्थ्य’ भन्ने अवधारणा ल्याउने तयारीमा रहेको समेत जानकारी गराए । उक्त अवधारणाले सचेतनाका साथै स्वास्थ्य सेवा र औषधीको गुणस्तर लगायतका विषयहरुलाई सम्बोधन गर्ने अपेक्षा गरिन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नोदनारायण चौधरीले प्रतिजैविक प्रतिरोध रोकथामका लागि हरेक नागरिक सचेत हुन आवश्यक रहेको बताए । चिकित्सकको सल्लाहविनानै औषधिको प्रयोग गर्ने तथा आवश्यक मात्रा तथा समयभन्दा फरक तरिकाले औषधिको प्रयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उनले बताए । औषधिको सही प्रयोग नगर्दा ठूलो स्वास्थ्य संकटको सामना गर्नुपर्ने चौधरीले बताए ।
विश्व स्वास्थ्य संगठनको सहकार्य तथा लुम्बिनी प्रादेशिक अस्पतालको आयोजनामा भएको अन्तरक्रियामा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले आषधी प्रदान गर्ने व्यक्तिलाई मात्र नभई सेवन गर्ने व्यक्तिलाई यसको सही प्रयोग बारे जानकारी गराउन आवश्यक रहेको बताए । स्वास्थ्य सेवालाई गुणस्तर र सहज बनाउनका लागि अस्पताल प्रयासरत रहेको बताउँदै मेसु डा. ढकालले प्रविधि र सेवा बिस्तारको कामलाई प्राथमिकतासाथ अघि बढाएको जानकारी गराए । अस्पतालमा आगामी पौष महिनाभित्रै एमआरआई सेवा सञ्चालन गर्नेगरी जडानको काम जारी रहेको तथा नयाँ अत्याधुनिक सिटिस्क्यान मेशिन खरिदको प्रक्रियामा रहेको समेत जानकारी गराए ।
यसैगरी अस्पतालमा लुम्बिनी प्रदेशमै पहिलो मेमोग्राफी सेवा सञ्चालन गरिएको तथा मातृ मृत्यु दरलाई घटाउनका लागि मेटोमेटिक बिल्डिङ अन्तरगत छुट्टै पोष्टअफ अपरेटिभ थिएटर, रिकभरी पोष्ट अपरेटिभ वार्ड स्थापना गरी सञ्चालनमा रहेको जानकारी गराए । चालु आर्थिक वर्षमा अस्पतालको आकस्मिक कक्षमा हुने भिडलाई व्यवस्थापन गर्नका लागि मेडिकल वार्ड विस्तारका लागि भौतिक संरचना तयार भैसकेको तथा गर्भवती पश्चात आमाहरुलाई ४८ घण्टासम्म राख्नका लागि वार्ड निर्माणको काम जारी रहेको बताए । यसैगरी अस्पतालमा टेलिमेडिसिन सेवा समेत सञ्चालनमा रहेको उनले बताए ।
कार्यक्रममा माइक्रो वायोलोजिष्ट कन्सल्टेन्ट डा. प्रविता ज्ञवाली र डा. गौरव गंगालले कार्यपत्र प्रस्तुत गरेका थिए । अस्पतालका प्रयोगशाला प्रमुख डा. प्रभाकर कुमार चौधरीको स्वागत तथा प्रयोगशाला ईन्चार्ज मान बहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो । देशभरीनै नोभेम्बर १८ देखि २४ सम्म एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एमएमआर) विरुद्धको आवाज उठाउँदै सरकारले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाएको छ । यस वर्ष ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ नारासहित दिवस मनाइएको हो ।




