बुटवलमै खुल्यो गीताप्रेस पुस्तक बिक्री केन्द्र, अब धार्मिक पुस्तक खरीद सहज

by समतल अनलाइन
84Shares

बुटवल ।भारतको गोरखपुरमा रहेको प्रसिद्ध प्रकाशन संस्था ‘गीताप्रेस’का धार्मिक तथा पुर्वीय दर्शनका पुस्तकहरू अब बुटवलमै सजिलै उपलब्ध हुने भएका छन्। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै बुटवलको जेसिज चोकमा गीताप्रेस पुस्तक बिक्री केन्द्र सञ्चालनमा आएको हो।

यसअघि गीताप्रेसका पुस्तकहरू खरिद गर्नका लागि धार्मिक पुस्तकप्रेमीहरूलाई काठमाडौँ वा भारतकै गोरखपुर जानुपर्ने बाध्यता थियो। तर अब बुटवलमा शाखा खुलेपछि पश्चिम नेपालका पाठकले आफ्नै शहरबाट पुस्तकहरू किन्न सक्नेछन्।

बिक्री केन्द्रका सञ्चालक तथा विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष शंकर खरालका अनुसार मंसिर १० गते बुधबार नयाँ बिक्री केन्द्रको शुभारम्भ गरिनेछ। यहाँ गीताप्रेसद्वारा प्रकाशित पुस्तकहरू दुई रुपैयाँदेखि तीन हजार भारतीय रुपैयाँसम्मको मूल्यमा उपलब्ध हुनेछन्।

गीताप्रेसले प्रकाशित गरेका करिब तीन हजार प्रकारका पुस्तकमध्ये झन्डै एक हजार पाँच बुटवल शाखामा उपलब्ध हुने जानकारी पनि खरालले जानकारी दिनुभयो । उहाँका अनुसार बिक्री केन्द्रमा १८ पुराण, उपनिषद, धर्मशास्त्र, संस्कृत व्याकरणदेखि लिएर बालबालिकाका पुस्तक तथा कथा–काव्यजस्ता सामग्री पनि पाइनेछन्। नेपाली, संस्कृत, हिन्दी र अंग्रेजी भाषाका पुस्तकहरू मागअनुसार उपलब्ध गराइने भएकाले सबै उमेर तथा वर्गका पाठकका लागि यो केन्द्र उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।

बिक्री केन्द्रको उद्घाटनका क्रममा विश्व ज्योतिष महासंघका अध्यक्ष तथा धार्मिक अभियन्ता जनार्दन न्यौपानेले बुटवलमा गीताप्रेसको शाखा स्थापना हुनु पश्चिम क्षेत्रका ग्राहकका लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।

उहाँका अनुसार नारायणी नदीको पश्चिम भूभागमा बस्ने भक्तजन तथा पाठकहरू अब यात्रा नगरी नै आवश्यक पुस्तकहरू किन्न सक्नेछन्, जसले पुर्वीय दर्शन अध्ययनलाई अझै सुलभ बनाउनेछ।

कार्यक्रममा हरि कृष्ण पूजा सामग्रीका सञ्चालक कृष्णप्रसाद खराल, गीताप्रेस बिक्री केन्द्रका सञ्चालक सतिश खराल, धार्मिक अभियन्ता सुन्दर भण्डारीलगायतले बुटवलमा सञ्चालन भएको यो नयाँ केन्द्रले धार्मिक पुस्तकप्रेमी, विद्यार्थी र शोधकर्तालाई ज्ञान प्राप्तिको सहज माध्यम प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बुटवलमा सुरु भएको यो बिक्री केन्द्रले न केवल पुस्तक खरिद गर्न चाहनेहरूलाई सुविधा दिनेछ, तर धार्मिक, आध्यात्मिक र पुर्वीय दर्शन बुझ्न इच्छुक समुदायका लागि एक महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुनेछ।

You may also like