प्रतिगामी तत्व र भारतीय पक्ष संविधान पुनर्लेखनको माग गर्दैछन् : मोहनविक्रम

by समतल अनलाइन
29Shares

काठमाडौं।नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अहिलेको अवस्थामा संविधानको पुनर्लेखन गर्न माग गर्नेहरू देशको हित नचाहने तत्व भएको आरोप लगाएका छन् ।

राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले शनिबार (मंसिर ६ गते) काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सिंहले यस्तो बताएका हुन् ।

‘नेपालको तात्कालिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा सिंहले सो सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेका थिए ।

अहिलेको संविधानले जनताका आधारभूत समस्यामा समाधान गर्न नसक्ने बताउँदै उनले यसको पुनर्लेखन आवश्यक रहेको सैद्धान्तिक आवश्यकता आफूले पनि स्वीकार गर्ने बताए ।

‘तर यतिखेर यो संविधानको पुनर्लेखनको माग कसले गरिरहेका छन्’ उनले भने, ‘संविधान पुनर्लेखनको माग राजवादीले गरिरहेका छन्, भारतले गरिरहेको छ किनकि उसले यो संविधानलाई मान्यता दिएको छैन । त्यस्तै क्षेत्रीयतावादी, जातिवादीले गरिरहेका छन् ।’

‘सैद्धान्तिक हिसाबले हामी संविधान पुनर्लेखनको पक्षमा छौँ’ सिंहले भने, ‘गत कालमा नेपालमा पटक पटक संविधानको पुनर्लेखन हुँदै आएको छ र नयाँ जनवादी वा समाजवादी व्यवस्थामा पनि संविधानको पुनर्लेखन हुनेछ ।’

२०६२–६३ सालको जनआन्दोलनले निरङ्कुश राजतन्त्रको अन्त गरी संविधानसभाले यो संविधान बनाएको बताउँदै उनले तात्कालिक राजनीतिक परिस्थितिमा यसको रक्षा गर्नुपर्ने स्पष्ट पारे ।

तत्कालै नयाँ जनवादी वा समाजवादी संविधान बनाउने अवस्था नरहेको स्पष्ट पार्दै उनले अगाडि भने– ‘नयाँ जनवाद वा समाजवादी संविधान तत्कालै बन्ने सम्भावना नरहेको अवस्थामा यो संविधानको रक्षा गरिनुपर्दछ ।’

कुनै पनि कोणबाट वर्तमान संविधान खारेज गरेर पुनर्लेखन गर्ने विचारले देशलाई पश्चगमनतर्फ लैजाने उनको धारणा थियो ।

वर्तमान संविधानको रक्षा हुन सके मात्रै लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा हुने अवधारणा पनि उनले राखे।
महामन्त्री सिंह उक्त अवधारणापत्रमाथि विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूले टिप्पणी गरेका थिए ।

नेपालमा द्वन्द्व निम्त्याउन अमेरिका खुला रुपमा लाग्यो : गुरुङ

अवधारणापत्रमाथि विचार राख्दै नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले वैदेशिक हस्तक्षेप निम्त्याउनका लागि अमेरिकाले जेनजी आन्दोलन उठान गरेको बताए ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालले अस्वीकार गरेपछि चीन र भारतलाई बाइबास गरेर नेपालमा द्वन्द्व निम्त्याउन अमेरिका लागिपरेको आरोप उनको थियो ।

यदि नेपालमा आन्तरिक द्वन्द्वको अवस्था भए पहिले अनमिन आएजस्तै संयुक्त राष्ट्र सङ्घको सेना नेपाल भित्र्याउने अमेरिकी योजना रहेको खुलासा उनले गरे।

राष्ट्र सङ्घमा अमेरिकाको वर्चस्व रहेको स्मरण गराउँदै उनले नेपालमा वैदेशिक सेना भित्रिनुको अर्थ अमेरिका भित्रिनु भएको धारणा उनको थियो ।

देशलाई नियमित राजनीतिक कोर्समा ल्याउन चुनाव हुनुपर्ने, चुनाव नभए प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने गुरुङले बताए ।

सत्तासञ्चालकसित राष्ट्रनिर्माणको ब्ल्युप्रिन्ट छैन : परी थापा
क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता परि थापाले देश अझै पनि तदर्थवादमा चलेको बताए । एक्काइसौँ शताब्दीको एकचौथाइ समय बितिसक्दा पनि नेपालका सत्तासञ्चालकसित राष्ट्रनिर्माणको ब्ल्युप्रिन्ट नरहेको उनको आरोप थियो ।

देशमा बहुदलीय व्यवस्था आएपछिका पाँच मुख्य उपलब्धि भएको व्यङ्ग्य गर्दै उनले ती उपलब्धि भनेको राष्ट्रघात, जनघात, भ्रष्टाचार, नातावाद र कृपावाद भएको बताए ।

देश विभिन्न बेथिति र कुशासनको बारुदी सुरुङमुनि सुतिरहेको बताउँदै नेता थापाले यस्तो अवस्थामा देशमा बेथिति ल्याउन कसैले सलाइ पार्नुपर्ने आवश्यकता नरहेको बताए।

देश अहिले पनि अर्धसामन्ती, अर्ध तथा नवऔपनिवेशिक अवस्थामा रहेको विश्लेषण उनले अगाडि सारे ।

अन्धकार विरुद्ध एकजुट होऔँ : लामा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता माइला लामाले जेनजी आन्दोलनपछि देश अन्धकार सुरुङतर्फ जाने अवस्थामा रहेको विचार व्यक्त गरे।

अहिले देश एकातिर अन्धकार सुरुङतर्फ जाने अवस्थामा रहेकाले त्यसका विरुद्ध अग्रगमनतर्फ अगाडि जान नेपाली जनता एकजुट हुनुपर्ने आवश्यकतामा उनले जोड दिए।

जेनजी आन्दोलनबाट लुटको स्वर्ग भत्किएको बताउँदै उनले सत्तासिन दलहरूले आफूलाई दलाल साबित गरेकाले यो स्थिति देखा परेको उनको भनाइ थियो ।

देशमा ज्युँदा लास मात्रै नभएको तथा बलिदानी गर्ने वीर जनता पनि रहेकाले देशलाई अब अगाडितर्फ बढाउनुपर्ने विचार उनको थियो ।

सामाजिक न्यायमा ध्यानकेन्द्रित गरौँ : अधिकारी

जनता समाजवादी पार्टी नेपालका नेता प्रकाश अधिकारीले सामाजिक न्यायतर्फ राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

२०४६ सालपछि सरकार चलाएका राजनीतिक दलहरू नसुध्रिएका कारण गत भदौमा जेनजी आन्दोलनको रूपमा विस्फोट भएको धारणा उनले राखे।

जनताले पटक पटक आक्रोस र असन्तुष्टि पोख्दा पनि राजनीतिक दल पुरानै तरिकामा रहेका कारण अब यसबारे गम्भीर हुनुपर्ने विचार उहाँले व्यक्त गरे।

उनले जेनजी आन्दोलन असङ्गठति र विचारविहीन भएको स्पष्ट पार्दै त्यसमा कुत्सित मनसाय भएका असामाजिक तत्व पनि सामेल भएको बताए।

जेनजी प्रदर्शन नियन्त्रित विध्वंस : त्रिपाठी

वरिष्ठ पत्रकार तथा बुद्धजीवी देवप्रकाश त्रिपाठीले जेनजी प्रदर्शनलाई नियन्त्रित विध्वंसको संज्ञा दिए ।

खालि सरकार मात्रै फाल्ने तर अन्य चिज यथावत् राख्ने गरी उक्त विध्वंस भएको बताउँदै उनले जेनजी आन्दोलनका पछाडि गम्भीर षड्यन्त्र रहेको बताए ।

देश यतिखेर विदेशी घुसपैठको गम्भीर अवस्थामा पुगेको उनको धारणा थियो ।

नेपाली टोपी लगाएका राष्ट्रघाती सत्ता र सरकार सबैतिर बसेको स्पष्ट पार्दै उनले यिनै राष्ट्रघातीलाई उपयोग गरेर जेनजी आन्दोलनमा विध्वंस मच्याइएको बताए।

एसपिपी राम्रो छ भनेर पूर्वप्रधान सेनापति बोलेको उदाहरण दिँदै उनले अब देशको रक्षाका लागि सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने धारणा उनको थियो ।

जल्दाबल्दा समस्यातर्फ ध्यान गएन : पौडेल

कार्यक्रममा मन्तव्य राख्दै वामपन्थी नेता डा. विजय पौडेलले देशमा सत्तासिनले जल्दाबल्दा समस्याबारे कहिल्यै बहस नगरेको आरोप लगाए ।

खाद्यान्नमा आत्मनिर्भर हुन कृषिनीति कस्तो हुने? बेरोजगारी रोक्न युवानीति कस्तो हुने भनेर सत्तासिन राजनीतिक पार्टीमा कहिल्यै छलफल नचलेको बताउँदै उनले यस्ता कुरा गर्नेहरू सो पार्टीमा कर्नरमा पर्ने गरेको अनुभव सुनाए ।

सत्तामा रहेका दलका नेताको निवासमा आगजनी, तोडफोड र विध्वंस हुँदा पनि कार्यकर्ताले बचाउन नआउनुका पछाडि ती पार्टीका सत्तामुखी चरित्र जिम्मेवार रहेको धारणा उनको थियो ।

राजनीतिक दलका नेताले आह्वान गरे धेरै काम हुन सक्ने बताउँदै उहाँले नेतृत्वमा विकास निर्माणका ठोस योजना हुनुपर्ने आवश्यकता औँल्याए ।

जेनजी आन्दोलन होइन, असङ्गठित विद्रोह : भण्डारी

सीमाअध्येता तथा पत्रकार रतन भण्डारीले जेनजीको प्रदर्शनलाई आन्दोलन भन्न नसकिने धारणा आफूले पहिलेदेखि नै धारणा राख्ने गरेको बताए ।

आफूले सुरुदेखि नै जेनजीलाई आन्दोलन नमानेको स्पष्ट पार्दै उनले सिंहदरबार र सर्वोच्च अदालतका ऐतिहासिक दस्तावेज खरानी पारेको सन्दर्भ जोडे।

यतिखेर कतिपयले सिंहदरबार भत्किए पनि अर्को बनाउन सकिनेजस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको उनको टिप्पणी थियो ।

सत्तासिन राजनीतिक दलको कुशासनप्रति फ्रस्टेसनको एउटा स्वरूप जेनजी विध्वंस भएको विचार उनले व्यक्त गरे ।

मन्तव्यको क्रममा जेनजी आन्दोलनको क्रममा विध्वंस मच्याउनेप्रति कानुनअनुसार कारबाही गर्न सरकारसित माग गरे ।

बागबजारस्थित हार्दिक होटलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल र सञ्चालन महासचिव मनोज भट्टले गरेका थिए ।

केन्द्रीय सल्लाहकार आनन्द शर्माको स्वागत मन्तव्यसँगै अगाडि बढेको कार्यक्रममा महामन्त्री सिंहको अवधारणा राजमो नेता वासु पोखरेलले वाचन गरेका थिए ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ महामन्त्री सिंहले दिएका थिए ।

You may also like