बुटवल लायन्स आँखा अस्पतालको २९ औँ स्थापना दिवसमा सेवा उपलब्धि र चुनौतीमाथि समीक्षा

by समतल अनलाइन
8Shares

बुटवल । बुटवल लायन्स आँखा अस्पतालको २९औँ स्थापना दिवस शुक्रबार अस्पतालको सभाहलमा विशेष कार्यक्रमसहित मनाइएको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आँखा उपचार सेवामा अस्पतालले गरेको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्य गरेर स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउन नगरपालिकाले निरन्तर साथ दिने आश्वासन दिनुभयो। उहाँले अस्पतालले तत्कालीन आवश्यकता र दीर्घकालीन योजनाको संयोजन गर्दै आगामी दिनमा अझ सुदृढ रूपमा अगाडि बढ्नुपर्नेमा पनि जोड दिनुभयो।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष रणअम्बिका शाह र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताब राणाले आँखा उपचार सेवा विस्तार अत्यन्त जरुरी रहेको भन्दै अत्याधुनिक उपकरण, प्राविधिक दक्षता र जनशक्ति व्यवस्थापनका लागि संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारको सहकार्य आबश्यक हुने धारणा राख्नुभयो। उहाँहरूले अस्पतालको संरचनागत तथा सेवा क्षमतामा थप लगानीको आवश्यकता रहेको समेत बताउनुभयो।

बुटवल लायन्स क्लबका अध्यक्ष प्रतिक पोखरेलले अस्पतालले विगतदेखि प्रदान गर्दै आएको सामाजिक स्वास्थ्य सेवाले जनस्वास्थ्यमार्फत ठूलो प्रभाव पारेको उल्लेख गर्दै समयअनुसार नयाँ योजना, प्रविधि र प्रभावकारी सेवाको विस्तार अपरिहार्य बनेको बताउनुभयो। त्यस्तै, अस्पतालका निमित्त सुपरिटेन्डेन्ट विवेक उपाध्यायले अस्पतालले गर्दै आएका सेवा, उपलब्धि र आगामी योजनाबारे जानकारी दिँदै सबैको सुझाव र सहकार्यले मात्र अस्पताललाई अझ सक्षम र परिणाममुखी बनाउन सकिने बताउनुभयो। कार्यक्रमको सञ्चालन सूचना अधिकारी मनोहर न्यौपानेले गर्नुभएको हो।

त्यसैगरी लायन्स आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश श्रेष्ठले विगतका उपलब्धिहरू, सेवा विस्तार, चुनौती र भविष्यका योजनाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो । उहाँले स्वर्गीय सूर्य प्रधानको योगदान सम्झिँदै सन् १९८२ देखि शुरु भएको आँखा सेवाले आज देश–विदेशका बिरामीलाई प्रवाह भइरहेको उल्लेख गर्नुभयो ।

स्थापना दिवसको अवसरमा पूर्व अध्यक्ष तथा सल्लाहकार महेश्वर प्रसाद श्रेष्ठ र कर्मचारी रमिला श्रेष्ठलाई सम्मान गरिएको छ। अस्पतालका अनुसार गत वर्ष करिब ७० हजार बिरामीले उपचार सेवा प्राप्त गरेका थिए भने ३ हजार २ सय जनाको मोतिबिन्दु शल्यक्रिया गरिएको थियो। विभिन्न स्थानमा शिविर सञ्चालन गर्दै आएका अस्पतालले कम्प्युटर प्रविधिमार्फत मोतिबिन्दुको अपरेशन, बिरामीले आवश्यकताअनुसार लेन्स छनोट गर्ने सुविधा, इन्जेक्सन प्रविधिद्वारा मोतिबिन्दु उपचार, जलविन्दुको नयाँ प्रविधिबाट परीक्षण तथा मधुमेह भएका बिरामीका लागि अत्याधुनिक रेटिना परीक्षण सेवा उपलब्ध गराउँदै आएको छ। साथै, रेटिना तथा जलविन्दुका बिरामीको रोग पहिचानका लागि फोटोमार्फत रिपोर्ट विश्लेषण गर्ने सेवा तथा कम्प्युटर प्रविधिबाट आँखाको पावर जाँच गर्ने सुविधा पनि अस्पतालमा नियमित रूपमा सञ्चालनमा रहेको छ।

You may also like