प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटी मेला–२०८२ सम्पन्न

by समतल अनलाइन
9Shares

बुटवल । बुटवलमा सञ्चालन भएको प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेला–२०८१ सम्पन्न भएको छ। रोट्र्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा बुटवल–११ देविनगरस्थित रंगशाला नजिकको खुला चौरमा कार्तिक १३ गतेदेखि सुरु भएको मेला मंसिर ४ गते औपचारिक रूपमा समापन गरिएको हो। समापन समारोहका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी उप–प्रमुख सावित्रादेवी अर्याल रहेकी थिइन्।

समापन समारोहमा बोल्दै उप–प्रमुख अर्यालले बुटवलमा यस्ता विशिष्ट सांस्कृतिक कार्यक्रमहरूले पर्यटन, कला र स्थानीय अर्थतन्त्रलाई उकास्ने बताइन्।

त्यस्तै, आयोजक संस्थाका अध्यक्ष इपल भण्डारीले पनि मेला सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्दै आगामी वर्षहरूमा अझ आकर्षक कार्यक्रमसहित मेलालाई निरन्तरता दिइने बताए।

मेलाको मुख्य आकर्षण मानिएको जल परी (मर्मेड शो) कार्यक्रम अवधिभर सर्वाधिक चर्चामा रह्यो। फिस टनेलभित्र सिसाको ठूलो बक्समा पानीसहित राखिएका फिलिपिन्सकी युवतीहरूले जल परीको रूपमा प्रस्तुत गरेको कला बुटवलका दर्शकका लागि पहिलोपटक अनुभव भएको आयोजक सचिव तथा सांस्कृतिक संयोजक शंकर काफ्लेले बताए। साथै, दुबई सिटी थिम पार्क, वैष्णवदेवी मन्दिर, बाल उद्यान, कृषि, होटल–हस्तकला र दैनिक उपभोग्य वस्तुसहितका १०० भन्दा बढी प्रदर्शनी स्टल पनि मेलाभरि आकर्षण बनेका थिए।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा अपाङ्ग–असक्त व्यक्तिहरूलाई मेलामा निःशुल्क प्रवेश प्रदान गरिएको थियो।

मेलामा दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति भएको थियो।

मेला अन्तर्गत आयोजित विभिन्न प्रतियोगितामा डान्स आइडलतर्फ किरण मगर प्रथम, सुबास बगाले दोस्रो र सटिस शेन्चुरी तेस्रो भएको सांस्कृतिक सह–संयोजक दिपु मगरले जानकारी दिए।

उनका अनुसार टिकटक प्रतियोगितामा उषा खत्री प्रथम र ऋषि बन्जाडे दोस्रो भएका छन्। विजयी प्रतिभाहरूलाई अध्यक्ष इपल भण्डारीले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए।

जेनजि आन्दोलन, चाडपर्वका कारण करिब डेढ महिना ढिलाइ भएर सुरु गरिएको यो मेला अन्ततः सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

You may also like