बुटवल । रुपन्देहीको देवदह–९ भलुहीमा रहेको न्यू नमुना ईङलिस बोर्डिङ्ग स्कुल कक्षा ५ की छात्रा जिविका रणपाल देवदह नगरपालिका स्तरीय श्रुतिलेखन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन् ।

देवदह नगरपालिकाद्वारा आयोजित विभिन्न प्रतियोगिताअन्तर्गत कक्षा ४ र ५ को आधारभूत तह स्तरीय श्रुतिलेखन प्रतियोगितामा जिविकाले प्रथम स्थान हासिल गरेकी हुन् । त्यस्तैगरी सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा कृष्टि वि.क. ले डिक्टेशन लेखन प्रतियोगितामा तृतीय स्थान प्राप्त गरेकी छन् । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा विजयी विद्यार्थी तथा अभिभावकलाई शुक्रबार न्यू नमुना ईङलिस बोर्डिङ स्कुलका प्राचार्य चुडा बहादुर थापा र सहप्राचार्य लक्ष्मी पुन अधिकारीलगायतका शिक्षकहरुले विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा बधाई दिदै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
न्यू नमुना स्कुलले पढाईमा गुणस्तरीयताका साथै आफ्ना विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा समेत सहभागी गराई विभिन्न कार्यक्रममा उत्कृष्टता प्रस्तुत गर्दै आएको छ । यस अघि चित्रकला प्रतियोगिता, गायन प्रतियोगिता र देवदह डान्स आइडललगायतका विभिन्न प्रतियोगितामा विजेता हुँदै आएको विद्यालयका शिक्षक कृष्ण पन्थीले बताए ।
देवदह नगरपालिकाले यस अघि कक्षा १ देखि ३ सम्म चित्रकला प्रतियोगिता, कक्षा ६ देखि ८ सम्म डिक्टेशन प्रतियोगिता र कक्षा ९ र १० सम्म हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगिताको नतिजा यही मंसिर ३ गते सार्वजनिक गरिएको हो ।

