बुटवल । रुपन्देही प्रहरीले एक महिनाको अवधिमा ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतले तोकेको २६ वर्ष ८ महिना २५ दिन कैद सजाय रहेका उनीहरूबाट ८ लाख ६ हजार ८ सय ३५ रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । सोही अवधिमा प्रहरीले करिब १ करोड ५९ लाख ९३ हजार ६ सय ५७ रुपैयाँ बराबरका भन्सार छली तथा भारतबाट अवैध रूपमा ल्याइएका विभिन्न सामान बरामद गरेको छ ।
बरामद वस्तुसँगै २७ वटा मोटरसाइकल, एक कार, चार पिकअप, दुई अटोरिक्सा र ३२ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार, पशु चेकपोस्ट बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।
प्रहरीले अवैध माटो तथा बालुवा उत्खननमा प्रयोग भइरहेका दुई ट्र्याक्टर, तीन टिप्पर, एक हाईवा र एक जेसीभी नियन्त्रणमा लिएर सम्बन्धित स्थानीय तहमा बुझाएको र सो प्रक्रियाबाट २ लाख ५३ हजार रुपैयाँ जरिवाना असुल भएको जनाएको छ । कार्तिक महिनामा मात्र रुपन्देहीमा २६ वटा आत्महत्याका घटना दर्ता भएको प्रहरीको तथ्यांक छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त चेकजाँचमा ४२२ सवारीसाधनलाई कारबाही गरिँदा ४ लाख ३७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

