काठमाडौं। बुधबार बाराको सिमरामा नेकपा (एमाले) का कार्यकर्ताहरूले कुटपिट गरेको भन्दै युवाहरूको एक समूहले प्रहरीमा जाहेरी दिएको छ ।
उनीहरूले सिमरा उपमहानगरपालिका–१ का तारा बस्नेतसहितलाई विपक्षी बनाउँदै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएका हुन्। उक्त जाहेरी इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कलैयामा पठाएको छ ।
यो घटनामा सम्राट, सौरभ कार्की, शंकरप्रसाद पाठक, राजबहादुर थापा, शेख सफिक, टेकबहादुर भण्डारीलगायत घाइते भएका काउन्सिल अफ जेनजीका बारा संयोजक सम्राट भनिने साइकुश उपाध्याय जानकारी दिए।
उनका अनुसार सौरभ कार्कीको अवस्था गम्भीर भएकोले उपचारको लागि वीरगन्ज लगिएको छ। कार्कीको पेटमा फलाम रोपिएको छ।
आफूहरूलाई कुटपिट गर्ने एमाले कार्यकर्तालाई कारबाही नगरे बिहीबार सिमरा बन्द गर्ने जिल्ला संयोजक उपाध्यायले चेतावनी दिएका छन् ।बुधबार बाराको परवानीपुरमा हुने नेकपा एमालेको सभामा सहभागी हुन महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा ओर्लिंदै थिए। उनीहरूलाई स्वागत गर्न सिमरा विमानस्थल पुगेका एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएको थियो ।
झडपपछि सिमराको स्थिति तनावग्रस्त बनेको थियो। ठूलो भिडले विमानस्थल घेर्नुका साथै तोडफोड पनि भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु लगाएको थियो।यो घटनालाई लिएर एमालेले शान्तिसुरक्षामाथि प्रश्न उठाएको छ ।

